इटहरी : नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापालाई इटहरी उपमहानगरपालिकाको सम्मेलनमा भव्य स्वागत भयो । नेता कार्यकर्ताको भिडभाडका बिच गगन थापाको पक्षमा नाराबाजी नै चल्यो । महामन्त्री थापासँग फोटो खिच्ने कार्यकर्ता मात्र हैन मन्तव्य दिने नेताहरूले समेत भरोसा र सुवेक्क्षा व्यक्त गरे । 

नेपाली काँग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापाले गठन हुन लागेको सरकार जनताको आशा र भरोसाको योग्य हुनुपर्ने धारणा राखे । जनतामा आश जगाउन काँग्रेसले नेतृत्व गर्ने मन्त्रालयबाट त्यही अनुसारको डेलिभरी हुनुपर्ने उनको भनाइ छ । महामन्त्री थापाकै नेतृत्वमा नेपाली काँग्रेस सरकारमा गए मात्र उपलब्धि हुने उनको जोड छ । 

केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले गगन थापालाई गल्ती गर्ने छुट नभएको बताइन् । यो अन्तिम मौका भएकाले समावेशी अनुहार सरकारमा पठाएर जनतालाई भरोसा दिलाउनुपर्ने धारणा राखिन् । महामन्त्री थापा खाली चेक भएको र जति रकम भरे पनि क्यास आउने बताउँदै उनले निष्कलङ्क छवि भएका थापाकै नेतृत्वमा सरकारमा जानुपर्ने उनले सङ्केत गरिन् । 

केन्द्रीय सदस्य राजीव ढुङ्गानाले समेत थापालाई सङ्केत गर्दै सरकारमा नेतृत्व गर्ने व्यक्तिको छविले आगामी दिनमा काँग्रेसको भविष्य निर्धारण गर्ने बताए । पार्टी भित्रको एकतालाई कायम राख्दै जनताले चाहे अनुसार काम गर्न आग्रह गरे । स्थानीय तहका जनप्रतिनिधिले समेत काँग्रेसलाई बलियो बनाउने गरी जनताको पक्षमा काम गर्न अनुरोध गरेका छन् । 

केन्द्रीय सदस्य राजीव कोइरालाले काँग्रेसले प्रतिनिधित्व गर्ने मन्त्रीहरूले नयाँ सरकारको आयु निर्धारण हुने बताए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अहङ्कार सँग नेपाली काँग्रेसको उदारवादले कस्तो समीकरण बनाउँछ त्यो हेर्न बाँकी रहेको उनको भनाइ छ । ओलीलाई जथाभाबी निर्णय गर्न नदिने क्षमता भएका नेताहरूले सरकारको नेतृत्व गर्नुपर्ने सुनाए । 

अर्की केन्द्रीय सदस्य कल्पना चौधरीले समेत थापालाई नेतृत्व गर्न आग्रह गरिन् । प्रदेश सदस्य सिजन गुरुङले नेपाली काँग्रेसको तर्फबाट गृह मन्त्रालय लिएर सरकारमा जान थापालाई सुझाव दिए । सुनसरी जिल्ला सभापति केदार भण्डारीले काँग्रेसले एमाले सँग गठबन्धन गर्नुपर्ने आवश्यकता र औचित्य पुरा गर्नुपर्ने बताए । गठबन्धनमा किन गएको र नयाँ सरकार गठन गर्नुपर्ने आवश्यकता किन पर्‍यो भन्ने प्रमाणित हुने गरि काम गर्नुपर्ने उनको भनाइ छ । 

सम्मेलनको प्रमुख अतिथि रहेका थापाले यो गठबन्धन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को दोहोरो चरित्रको कारण भएको बताए । प्रचण्डले जथाभाबी गठबन्धन बनाउँदै भत्काउँदै हिँड्ने र कार्यसम्पादनमा भएको कारण यो अवस्था आएको उनको भनाइ छ । 

कार्यकर्तालाई आश्वस्त पार्दै उनले २०८४ मा नेपाली काँग्रेस एकल रूपमा निर्वाचनमा जाने बताए । अहिले जसको नेतृत्वमा सरकार गठन भए पनि आगामी निर्वाचनलाई केन्द्रमा राखेर सङ्गठनको काममा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।itahari-nagar-sammelanumesh-Thapa-Itahari