धरान : कुल १ हजार १६१ घरधुरीमा १ हजार ४१३ जना बालबालिका रहेको धरान वडा ३ लाई आज आयोजित घोषणा सभामा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले बालमैत्री वडा घोषणा गरेका छन् ।

बालमैत्री वडाको नियम र शर्त अनुसार वडा ३ ले ५१ वटा सूचक पुरा गरेको आधारमा बालमैत्री घोषणा गरिएको हो ।

सभामा उपमेयर बेघाले नगर प्रमुखको नाम नलिई भने ‘नेतृत्व तहबाट कमी कमजोरी सच्याउँदै विधि विधान भित्र बसेर काम, कर्तव्य र अधिकारको भूमिका निर्वाह गर्नुपर्छ ।’

पदमा बसेको कुनै एक व्यक्तिले एकल ढङ्गले विकास गर्न चाहेर मात्र विकास नहुने बताउँदै उनले ‘आमजनताको भावनालाई समेटेर मात्र धरानको विकास हुने कुरामा जोड दिए ।

वडाध्यक्ष विद्या शाक्यले धरान ३ बालमैत्री वडा घोषणा हुने १७ औँ वडा भएकोमा वडावासीलाई बधाई दिए ।

उनका अनुसार वडाले पुरा गरेका ५१ सूचकहरूमा वडाका १०० प्रतिशत बालबालिका विरुद्ध हुने हिंसा, बेचविखान, शोषण, बेवास्ता र दुर्व्यवहार न्यूनतम ८० प्रतिशत अङ्क प्राप्त गरेको छ । छाउपडी, कमलरी जस्ता सामाजिक कुप्रथा नभएकोमा ९५ प्रतिशत प्राप्त गरेको छ ।

वडामा १ हजार १६१ घरधुरीमा १ हजार ४१३ बालबालिका छन् । वडामा ६६१ बालक ७५९ बालिका छन् ।

वडाध्यक्ष शाक्यले आगामी आर्थिक वर्षमा वडामा ४ वटा सुविधा थपिने बताए । अति विपन्न समुदायका ३० जनालाई निःशुल्क स्वास्थ्य बिमा गरिने छ ।

बिरामी भएकालाई निःशुल्क स्वास्थ्य जाँच गराइने छ । अति विपन्न परिवारका सदस्यको मृत्यु भएमा टिएलओको सिफारिसमा दाह संस्कारका सम्पूर्ण खर्च प्रदान गरिने छ ।

वडाका स्थायी बसोबास र नागरिकता भएकालाई रगत जाँच निःशुल्क र बिरामी हुँदा चाहिए रगत उपलब्ध गराइने छ ।

धरानमा बालमैत्री वडा घोषण नभएका वडा अब १, २ र ९ वडा बाँकी छन् । २० वटा वडा मध्ये सबैभन्दा पहिले धरान १३ बालमैत्री वडा घोषणा भएको थियो । त्यसपछि धरान-१३ सहित १७ वटा वडाहरू बालमैत्री घोषणा भैसकेका छन् ।

सभामा धरान उपमहानगरपालिकाका पूर्व मेयर तिलक राई, २० वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्यहरू उपस्थित थिए ।