इटहरी : नेकपा एमाले इटहरी उपमहानगर कमिटीले बजेट पारित गराउन सहयोग गर्ने जनप्रतिनिधिको बिषयमा छानबिन गर्ने भएको छ । यथार्थ भन्दा बढी बजेट ल्याएको भन्दै आपत्ति जनाएको एमालेले बजेट पास भएपछि छानबिन गर्न लागेको हो ।

मेयर हेमकर्ण पौडेलले ३ अर्ब ५७ करोड भन्दा बढेको बजेट ल्याएपछि विरोधमा उत्रिएको एमालेका जनप्रतिनिधिले असार मसान्तमा बजेट पास गर्न सहयोग गरेका थिए ।

उपमेयर सङ्गीता चौधरी सहित केही जनप्रतिनिधिले मात्र विरोध जनाए पनि बजेट बहुमतले पारित भएको थियो । एमाले नगर कमिटीको संस्थागत निर्णय विपरीत जनप्रतिनिधिले भूमिका निर्वाह गरेपछि छानबिन गर्न लगिएको अध्यक्ष रुपेश बस्नेतले बताए ।

अधिकार सम्पन्न समिति गठन भएको बताउँदै उनले असंवैधानिक हिसाबले बजेट पास भएको सुनाए । बस्नेतका अनुसार नगर सचिव मदन कार्की संयोजक रहने गरी लोचन पौडेल, अवद्वेश चौधरी, दलबहादुर मगर र अनिता निरौला सदस्य भएको समिति गठन भएको हो ।

समितिलाई कानुनी परामर्श गर्न सहजताको लागी भीम सुवेदी (सागर) लाई आमन्त्रित सदस्य राखिएको छ । नगर कमिटीको पहिलो बैठकले केन्द्रीय सदस्यहरू तयब हुसैन र जगदीश प्रसाद कुसियैत प्रति खेद व्यक्त गरेको छ ।

नगर कमिटीको निर्णय विपरीत जनप्रतिनिधिलाई गलत कार्यमा उक्साएको भन्दै केन्द्रीय कमिटीमा ध्यानाकर्षण गराउने तयारी गरिएको छ।

अध्यक्ष बस्नेतका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेल सम्म यस बिषयमा जानकारी गराउन लागिएको हो ।