धरान : काठमान्डुसँग पूर्वी नेपाललाई जोड्ने पहाडी सडक अहिलेको बिपी राजमार्ग जुन बेला बिपी कोइरालाले कल्पना गरेका थिए त्यस बेलाको इतिहाससँग उनको नाम धरानसँग गाँसिएको छ ।

धरानमा आज आइतबार आयोजित ४२ औँ बिपी स्मृति दिवसमा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तिलक राईले भने, ‘काँग्रेस र बिपीसँग धरानको इतिहास जोडिएको अहिले ७७ वर्ष पुगेको छ ।’

नेपालमा प्रजातान्त्रिक आन्दोलनको प्रारम्भ २००४ सालमा विराटनगर जुटमिल आन्दोलनबाट सुरु भएको थियो । त्यही आन्दोलनमा राणा सरकारले बिपी कोइरालालाई पक्राउ गरेको थियो ।

बिपीलाई काठमान्डु झिकाइएपछि विराटनगरबाट धरान ल्याई फुस्रे ब्यारेकमा एक रात राखेर सर्दु खोला तराउँदै पैदल धनकुटा भएर काठमान्डु पुर्‍याइएको थियो । धेरै दिनको कष्टकर हिँडाइको बेला बिपीले पहाडी क्षेत्रमा यातायातको सुविधा पुर्‍याउन राजमार्गको कल्पना गरेका थिए ।

बिपी प्रधानमन्त्री भएपछि तत्कालीन सरकारले तयार गरेको योजना अनुसार अहिलेको बिपी राजमार्ग निर्माण भएको हो । बिपी कोइराला र धरानको त्यही ऐतिहासिक सम्बन्धलाई चिरस्थायी बनाउन तत्कालीन मेयर राईले सर्दु खोलालाई बिपी पार्कको स्थापना गरेका थिए ।

उनले भने, ‘बिपीले अघि सारेका अवधारणाहरू अहिले पनि सान्दर्भिक छन् केवल रणनीतिक सन्दर्भ मात्र बदलिएको छ ।’ उनले हिजो प्रत्येक नेपालीका घरमा कृषिका लागि एक हल गोरु, दूधका लागि एउटा गाईको कुरा गरेका थिए, त्यसलाई अहिले काँग्रेसले रोजगारी र उद्यममा पहुँचको रणनीतिक योजना बनाउनु पर्ने उनको भनाई थियो ।

बिपी चिन्तन प्रतिष्ठान र नेपाली काँग्रेस नगर समितिद्वारा आयोजित अन्तरक्रियामा सभापति श्याम पोखरेलले धरानको राजनीति परिदृश्यको बारेमा धरानका राजनीतिक दलहरूको गम्भीर ध्यानाकर्षण भएको बताए ।

उनले भने, ‘काँग्रेस जिम्मेवार पार्टी भएकोले धराने जनताको पक्षमा सर्वदलीय सहमतिमा निर्णायक कदम उठाउन पछि पर्दैन ।’ खानेपानीको महसुलमा गरिएको वृद्धि स्वीकार्य नहुने बताउँदै अहिले देखिएका कतिपय विवाद शान्ति, सुरक्षाको सवालसँग जोडिएकाले त्यो प्रहरी, प्रशासनको जिम्मेदारी भएको उनको भनाई थियो ।

प्रजातान्त्रिक प्राध्यापक सङ्घका केन्द्रीय सदस्य डा.जीवनकुमार राईले काँग्रेसका नेताहरूले बिपीको नीतिलाई व्यवहारमा उतार्न नसकेको बताउँदै सत्तामा पुगेकाहरू भ्रष्टाचार मुछिएका उदाहरणले काँग्रेसमा ठुलै सुधारको खाँचो भएकोमा जोड दिए ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङले काँग्रेस कार्यकर्ताहरू नै भाषणमुखी कार्यक्रम भन्दा सामाजिक सेवाका कार्यक्रममा बढी जुट्ने देखिएकाले पार्टीका निकायहरूले सर्वसाधारणको पहुँचमा पुग्ने किसिमको सामाजिक कार्यमूलक कार्यक्रमहरू अघि बढाउनु पर्ने कुरामा जोड दिए ।

बिपी चिन्तनका अध्यक्ष श्यामा रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभा क पार्टी सभापति अनिल श्रेष्ठ, हर्ष सुब्बा लगायतले बोलेका थिए । सञ्चालन सचिव विजय घिमिरेले सञ्चालन गरेका थिए ।

यसअघि बिहान धरान-१३ सर्दु खोला बिपीको सालिकमा माल्यार्पण गरिएको थियो । वक्ताहरूले बिपीको विचार अहिले पनि सान्दर्भिक रहेको विषयमा चर्चा गरेका थिए । अघिल्लो दिन शनिवार काँग्रेस कार्यकर्ताहरूद्वारा पार्क स्थलको सरसफाइ कार्यक्रम भएको थियो ।

42th BP smriti Diwas 2nd