धरान : मृगौला प्रत्यारोपण सफल भएपछि इन्फेक्सनको कारण स्वास्थ्यमा जटिलता आएको अवस्थामा थप उपचारका लागि पत्रकार पिवी दियालीलाई धरानका सुनचाँदी व्यवसायीबाट २० हजार १३० रुपैयाँ सहयोग प्रदान गरिएको छ ।

धरान-२ का रत्नरोडका सुनचाँदी व्यवसायी युवराज शङ्कर, प्रेम लकान्द्री र छत्र दर्नालको सक्रियमा रकम सङ्कलन गरी आज बुधवार हस्तान्तरण गरिएको हो । सहयोग रकम दियालीकी भान्जीले बुझिलिएकी हुन ।

पत्रकार दियालीको असार २२ गते वीर अस्पताल काठमाण्डौमा मृगौला प्रत्यारोपण गरिएको थियो । मृगौला प्रत्यारोपण सफल भएपछि अस्पतालबाट उनी ९ दिन पछि डिस्चार्ज भएका थिए । केही दिनपछि अप्रेसन गरेको ठाउँमा इन्फेक्सन भएकाले अस्पतालमा नै बसेर उनी उपचार गराइरहेका छन् ।

उनको औषधि उपचारमा ५० लाख भन्दा बढी खर्च भइसकेको परिवारले बताएको छ । लामो समयसम्म मृगौलाको स्वास्थ्य उपचार गराउने क्रममा इटहरीमा रहेको घरजग्गा समेत बिक्री गरेका छन् । थप औषधी उपचारका लागि आर्थिक अभाव भएकोले सहयोग अपिल गरेका छन् ।

अस्पतालमा दियालीको दैनिक औषधी उपचार १५ हजारभन्दा बढी खर्च हुने गरेको उनको परिवारले बताएको छ ।