धरान : इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले हिजो मङ्गलवार धरान-१५ की जोनु राईलाई प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको छ ।

प्रहरीले उनको साथबाट ट्रामाडोल १२० क्याप्सुल र कोलिवान १४० ट्याब्लेट औषधी बरामद गरेको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यसैगरी वराहक्षेत्र-२ बाट भोजपुर हतुवागडी-९ घर भई हाल वराहक्षेत्रमा बस्दै आएका ३३ वर्षीय कृष्ण कुमार राईलाई लागुऔषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ ।

बा ५६ प. ६९३५ नम्बरको स्कुटरमा सवार राईलाई शङ्का लागि चेकजाँच गर्दा उनको साथबाट ५३० ग्राम लागुऔषध बरामद भएको छ । उनलाई इलाका प्रहरी कार्यालय चतराको टोलीले पक्राउ गरेको हो ।

हिजै झापा गाउँपालिका-१ बाट दमक-१२ का २६ वर्षीय मनिस थापा, २२ वर्षीय रिकाश बस्नेत र १९ वर्षीय रोमित कटवाललाई ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलीले रोकी राखेको को ३२ प ८९७४ नम्बरको मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्दा उनीहरूको साथबाट २ ग्राम ६०० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।

यसैगरी विराटनगर-१७ बाट सुन्दरहरैचा-३ का ३२ वर्षीय मनोज कटुवाल र ३२ वर्षीय अम्बिर यक्सो लिम्बुलाई ३ ग्राम ५८ मिलिग्राम ब्राउनसगुर सहित प्रहरीले पक्राउ गरेको छ ।

बा ९८ प ४६ नम्बरको मोटरसाइकल चालक कटुवाल र पछाडि सवार यक्सो लिम्बुसँग ३ ग्राम ५८ मिलिग्राम ब्राउनसगुर बरामद भएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले पक्राउ गरेको हो ।