धरान : प्रहरीले झापाको बिर्तामोड, दमक, भद्रपुर, काँकडभिट्टा छुट्टाछुट्टै ठाउँबाट कुल ८ ग्राम ८० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित ९ जना युवालाई पक्राउ गरेको आइतबार जानकारी दिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार बिर्तामोडमा पक्राउ पर्नेमा बिर्तामोड-५का ३२ वर्षीय विजय मगर, ३७ वर्षीय बिदुर मगर, मेचीनगर-९ का ४५ वर्षीय शेरबहादुर लिम्बु, इलाम माई-२ का ३० वर्षीय रुपेश ढुङ्गाना छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी बसपार्कको प्रहरी टोलीले १ ग्राम ५४० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यसैगरी दमकमा पक्राउ पर्नेहरूमा इलाम चुलाचुली-३ घर भई दमक-५ मा डेरागरी बस्दै आएका २६ वर्षीय अगम राई, कमल गाउँपालिका-५ का ३६ वर्षीय जीवन लिम्बु छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले ५ ग्राम ब्राउनसुगर र नगद २९ हजार ४५० रुपैयाँ सहित पक्राउ गरेको हो ।

भद्रपुर-५ बाट पक्राउ पर्नेमा इलाम चुलाचुली-३ का २८ वर्षीय विवेक राई छन् । उनलाई ५५० मिलिग्राम ब्राउन सुगर सहित मेचीपुल बिटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

काँकडभिट्टाबाट पक्राउ पर्नेमा मेचीनगर-९ का २६ वर्षीय अजय धिमाल छन् । उनलाई १ ग्राम ब्राउनसुगर सहित लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले पक्राउ गरेको हो ।