धरान : गत चैत महिनामा निर्माण सम्पन्न भएको धरान-८ मदन भण्डारी राजमार्गको सडक आज बिहान ३ बजे परेको पानीले २ टुक्रा बनाएको छ ।

बुधवार बिहान ३ बजेको समयमा सामान्य वर्षाको समयमा धरान-८ बौद्ध दाहसंस्कार छेउ स्थित ३ ढ्वाङ्गे पुल माथिको बाटो भत्किएको हो ।

सडक विभाग र ठेकेदारले बाटो निर्माण गर्दा हेलचक्राई गरेकाले भर्खरै निर्माण सम्पन्न भएको बाटो भत्किएको स्थानीय बासिन्दा सुवास श्रेष्ठले बताए ।

उनले भने ‘बाटो कालोपत्रे भएको ५ महिना पनि भएको  छैन, आज बिहान परेको पानीले दुई टुक्रा भएको छ ।’ सडक विभागले सानो सानो कुरा ख्याल नगर्दा क्षति पुगेको उनको भनाई छ । उनले बिहानको समय भएकोले मानवीय क्षति भने भएन । दिउँसोको समयमा भएको भए धेरै क्षति पुग्ने श्रेष्ठले बताए ।

बाटो घोपा क्याम्पको समयमा बेलायती सरकारले पुल बनाएको हो । हालै मात्र नेपाल सरकारको लगानी २ लेनको मदन भण्डारी राजमार्ग बाटो बनाई कालो पत्रे समेत भएको हो ।

उनले भने ‘जीर्ण अवस्था तीन ढ्वाङ्गे पुल रहेको देख्दा देख्दै थाहा हुँदा हुँदै बेवास्ता गर्दै नेपाल सरकारले लगानी गरेको थियो ।’ तर आज बाटो २ टुक्रा भएको छ बाटोमा हिँड्न असहज भएको छ । स्थानीय जनताको दैनिक जनजीवन प्रभावित समेत भएको छ । बाटो पारी र वारि गरेर जनता बस्नु पर्ने बाध्यता छ ।

मदन भण्डारी राजमार्ग बाटो कालोपत्रे बनाउने ठेक्का श्री मोतिदान निर्माण कम्पनी काठमाडौँले पाएको थियो ।

ठेकेदार कम्पनीका प्राविधिक ईसाहाक राईसँग फोन सम्पर्क गर्दा उनले आफूहरूले कल्भर्ट र कालोपत्रे गर्ने ठेक्का मात्र पाएको बताए । उनले भने ‘पुल बनाउने ठेक्का थिएन, पुल जीर्ण भएको थाहा हुँदा हुँदै बाटो बनाएको सत्य हो ।’

उनले जनतालाई धुलोबाट बचाउन कालोपत्रे गरिदिएको बताएर फोन राखिदिए ।

Madan-bhandari-Highway2