चतरा : काठमाडौँ उपत्यका ललितपुर मंगलबजारबाट गत साता चोरी भएको चाँदीका सामान वराहक्षेत्र-१ गौरीगाउका २६ वर्षीय प्रवीण राईको घरबाट बरामद गरी चोरीका सामग्री सहित बिहीबार राईलाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर मंगलबजारका लक्ष्मण शङ्करको चाँदी पसलमा काम गर्दै आएका राईले साउन १९ गते पसलबाट चाँदी र चाँदीले बनेको भाडा-कुडा चोरी गरी फरार भएका थिए ।

उक्त सूचना इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा प्राप्त हुनसाथ प्रहरी निरीक्षक विकास राईको नेतृत्वमा चोरको खोजीमा प्रहरी टोली खटिएको थियो ।

इलाका प्रहरी चतराका सई मुना डाँगी सहितको टोलीले प्रवीण राईलाई उसकै घरमा लुकाई छिपाई राखेको ४ केजी १८७ दशमलव २६ ग्राम चाँदी र चाँदीले बनेको भाडा-कुडा सहित पक्राउ गरेको हो ।

पक्राउ परेका राईलाई थप अनुसन्धानको लागि इलाका प्रहरी महेन्द्रनगरले बरामद चाँदी र राईलाई आज शुक्रवार आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी ललितपुर पठाइएको प्रहरी निरीक्षक राईले बताए ।