धरान : गत साता अविरल वर्षामा धरान-८ स्थित तीन ढ्वाङे मा भासिएर भत्किएको सडक चाँडो पूनःनिर्माण गराउन पहल थालिएको छ ।

मदन भण्डारी राजमार्गको धरान खण्डको उक्त सडक ७ दशक अघि ब्रिटिस घोपा क्याम्प स्थापनाकालमा बनेको जीर्ण तीन ढ्वाङे कल्भर्ट माथि बनेकोले भास्सिएर दुई टुक्रा भएको छ ।

सडक भत्किएर आवागमन बन्द भएपछि कसैले चासो नलिएको बेला नेकपा माओवादीका केन्द्रीय सदस्य मुक्साहाङ मेन्याङ्बो मुकेशले चाँडो पूनःनिर्माण गर्न पहल सुरु गरेका हुन ।

तिन ढ्वाङे सडकका साथै मदन भण्डारी राजमार्गकै बन कार्यालयको अवरोधका कारण रोकिएको धरान–लेटाङ सडक खण्डमा पर्ने रुख कटानका लागि पनि उनले पहल सुरु गरेका छन् ।

उनले भने ‘मदन भण्डारी राजमार्गको दुवै ठाउँमा अवरुद्ध सडकको काम तत्काल सुरु गर्न आयोजना प्रमुखसँग भेटेर पहल सुरु गरिएको छ ।’

माओवादी नेता मेन्याङवोले आयोजना प्रमुख इन्जिनियर दिपक बराहीसँग बिहीबार ललितपुर पुलचोक स्थित उनकै कार्यालयमा भेटघाट गरेका बताए ।

आयोजना प्रमुखसँग धरान खण्डमा भत्किएको कल्भर्ट तत्काल बनाउने र धरान लेटाङ खण्डको रूख कटानको प्रक्रिया छिटो अगाडि बढाउन छलफल भएको छ । उनले आयोजना प्रमुख इन्जिनियर बराहीको भनाई उद्धृत गर्दै भने ‘दुवै काम चाँडै सुरु गर्ने प्रक्रिया अघि बढाइएको छ ।’

मदन भण्डारी राजमार्ग आर्थिक वर्ष २०७५/७६ देखि सुरु भएको हो । राजमार्गको १ हजार ३९० किलोमिटर लामो दुरी योजना अनुसार आर्थिक वर्ष २०८४/०८५ सम्ममा सम्पन्न हुने लक्ष्य राखिएको छ ।