धरान : संस्कृत शिक्षा तथा पूर्वीय वाङ्मयका विद्वान पण्डित पुरुषोत्तम भट्टराई आज शुक्रवार आयोजित विद्वत सभामा सम्मानित भएका छन् ।

उनलाई 'पण्डित लोकनाथ लुइँटेल स्मृति प्रतिष्ठान'द्वारा आयोजित समारोहमा प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका पूर्व सभासद् प्रा.नारायणप्रसाद कट्टेलले दोसल्ला ओढाएर सम्मान-पत्रद्वारा सम्मानित गरिएको हो ।

संस्कृत शिक्षाको गुरुकुल परम्परालाई पूनःस्थापित गर्ने अभियानमा लागेको पुरुषोत्तम भट्टराई उमेरले ९० वर्ष नाघे पनि क्रियाशील छन् । उनको संरक्षणमा धरान-१४ मा गुरुकुल पद्धतिमा पिण्डेश्वर संस्कृत मावि कक्षा ११ र १२ सम्म सञ्चालनमा छ ।

उनको संस्कृत शिक्षाप्रतिको योगदानको उल्लेख गर्दै सम्मानपत्रमा भनिएको छ ‘वेदोकखिलो धर्ममुलम भन्ने अर्षपरम्परालाई जीवनकै आदर्श मान्ने वेदविहित धर्म, कर्म र दर्शन एवं सिद्धान्तबाट संसारकै जीवहरूको कल्याण हुन्छ भन्ने कुरामा विश्वास राख्नु हुने यहाँको नेतृत्वमा स्थापित, सञ्चालित ऋषिकुल, गुरुकुलले त्यही मान्यतालाई प्रतिबिम्बित गरेको छ ।’

समारोहमा लोकनाथ लुइँटेल स्मृति प्रतिष्ठानद्वारा प्रकाशित २ पुस्तक ‘अनुसन्धानको रूप र शैली’ एवं अङ्ग्रेजी भाषाको ‘व्हाई मस्ट पब्लिस्ड रिजल्ट अन युनिट रुट एण्ड कोइनेटीग्रेशन आर फल्स’ विमोचन गरिएको थियो ।

अनुसन्धान शैली सम्बन्धी विश्लेषणात्मक पुस्तक प्रतिष्ठानद्वारा गठित ५ सदस्यीय अनुसन्धान समितिद्वारा तयार गरिएको हो । समितिमा प्राध्यापकहरू यज्ञेश्वर निरौला, सागरमणि सुवेदी, अमृतकुमार श्रेष्ठ, हरिशरण लुइँटेल र भवानीप्रसाद मिश्र छन् ।

अङ्ग्रेजी भाषाको पुस्तक डा.हरिशरण लुइँटेल र गेरी जे महरले तयार गरेका हुन । पुस्तकमा अन्तर्राष्ट्रिय निकायहरूबाट हुने मुलुकहरूको अध्ययनहरूमा प्रयोग गरिने तथ्याङ्कहरूको बारेमा विश्लेषण गरिएको छ ।

अनुसन्धानको रूप र शैली पुस्तकका बारेमा प्राडा टङ्क प्रसाद न्यौपाने र रमेश घिमिरेले समीक्षात्मक टिप्पणी गरेका थिए । अङ्ग्रेजी भाषाको पुस्तकको समीक्षा डा.कृष्णगोपाल अधिकारीले गरेका थिए ।