इटहरी : सामुदायिक विद्यालयमध्ये इटहरी वडा १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयले पहिलोपल्ट वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

इटहरीका मेयर हेमकर्ण पौडेलले बिहीबार आयोजित कार्यक्रममा विद्यालयले तयार गरेको आर्थिक वर्ष २०८१/०८२ का लागि कार्यक्रम पुरा गर्न ७ करोड रुपैयाँको बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

इटहरी उपमहानगरपालिकाले अघिल्लो शैक्षिक सत्रदेखि विद्यालय सुधार अभियान चलाइ रहेका बेला राष्ट्रिय माध्यमिक विद्यालयले उदाहरणीय कार्य गरेको र अरू विद्यालयले सिको गर्ने मेयर पौडेलले बताए ।

विद्यालयले तय गरेको वार्षिक नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकासतर्फ विद्यार्थीको कोठे पक्की भवन निर्माण, खेलमैदान स्तरोन्नति, सिसी क्यामेरा जडान, थप दुई वटा बस, दुई वटा शौचालय थप, शुद्ध पिउने पानी फिल्टरको व्यवस्था र स्मार्ट विद्यालय स्मार्ट शिक्षक कार्यक्रम लागू गरिने उल्लेख छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्कीद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा विद्यालयको वाल उद्यान निर्माण, पार्किङको उचित व्यवस्था, विद्यार्थीको उमेर समूह अनुसार फर्निचरको व्यवस्था, अलगै परीक्षा शाखा, चमेना गृह व्यवस्थित गर्ने र  आपगाछी चोकमा साना स्कुल बालबालिकालाई मध्यनजर गरेर आउँजाउँ गर्न सहजताका लागि आकाशे पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउने उल्लेख छ ।

मानव संसाधन विकासतर्फ तल्लो तहका कक्षामा अध्यापन गर्ने शिक्षकको क्षमता विकास, सबै तहका शिक्षक तथा कर्मचारीलाई विधागत तालिम, विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्थालगायतका कार्यक्रम गरिने भएको छ ।

शैक्षिक क्रियाकलापतर्फ शिक्षक कार्यसम्पादन सम्झौता करार गरी कार्यान्वयन गरिने मुख्य कार्यक्रममा समेटिएको छ । अतिरिक्त क्रियाकलाप बढाउने, ग्रिन क्लबको नेतृत्वमा एक विद्यार्थी एक बिरुवा कार्यक्रम, त्रैमासिक भित्ते पत्रिका प्रकाशन, अभिभावक अभिमुखीकरण कार्यक्रम, कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई ग्रासरुट फुटबल प्रशिक्षण छन् ।

साथै सिकाई क्षमता कमजोर भएका विद्यार्थीलाई पकेट कक्षा सञ्चालन, योग शिक्षा कार्यक्रम सुरु गर्ने र  विद्यार्थीसँग मेयर कार्यक्रम वर्षमा दुई पटक गर्ने गरिने व्यवस्थापन समिति अध्यक्ष कार्कीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।

कार्यक्रममा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रम अनुसार कपी उत्पादन गरी विक्री गरिने, ट्राफिक व्यवस्थापन, लागू औषध नियन्त्रण सम्बन्धी सचेतना, विद्यार्थीको प्रतिभा पहिचान गरी प्रतिभालाई संरक्षण गरिने, शिक्षक, विद्यार्थी र अभिभावक आचारसंहिता लागू गर्ने लगायत समेटिएका छन् ।

अघिल्लो मङ्सिरमा  विद्यालयले ६७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको थियो । विद्यालयको ६८ औँ वार्षिकोत्सवको अवसरमा बाल विकासदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई दाताले स्थापना गरेको १८ लाख ५८ हजार ८६० रुपैयाँको ब्याजबाट प्राप्त ९८ हजार २७३ रुपैयाँको छात्रवृत्ति रकम वितरण गरेको थियो । अब मङ्सिरमा थप विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

प्रधानाध्यापक सरणकुमार बस्नेतले आर्थिक वर्ष २०८१/०८२ का लागि अनुमानित आय ११ करोड ७७ लाख ९९ हजार ७४२ रुपैयाँ र व्यय ११ करोड ८३ लाख ६१ हजार ६०३ रुपैयाँ प्रस्तुत गरेका थिए  ।

इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख दोर्ण दाहालले इटहरी क्षेत्रका १९ वटा माध्यमिक विद्यालयमध्ये राष्ट्रिय माध्यमिक विद्यालय उत्कृष्ट भएको जनाए । विद्यालयमा बाल विकासदेखि कक्षा १२ सम्म पढाई हुने गरेकोमा कुल एक हजार ८८१ जना विद्यार्थी अध्ययनरत छन् ।

Rastriya MAVI