इटहरी : सङ्खुवासभाको खाँदबारीमा रहेको हिमालयन माध्यमिक विद्यालयमा विद्यार्थीले पुरा समय परीक्षा लेख्न नपाएको विषय बाहिर आएको छ । साउन २७ गते भएको एसइईको पूरक परीक्षाका लागि कम्प्युटर विज्ञान विषयमा परीक्षा दिइरहेका विद्यार्थीलाई आधा घण्टा अगाडी नै कापी खोसिएको हो ।

विद्यालयका प्रधानाध्यापक तथा केन्द्राध्यक्ष वीर बहादुर राईले आधा घण्टा बाकी रहँदै विद्यार्थीलाई परीक्षा हलबाट निकालेपछि खैलाबैला भएको हो । हिमालयन सँगै रहेको खाँदबारीकै महेन्द्र मावि मानेभञ्ज्याङमा दुई घण्टा परीक्षा सञ्चालन भए पनि राईले कुनै लिखित निर्देशन नआएको भन्दै परीक्षा स्थगित गरेका हुन् ।

परीक्षा नियन्त्रक कार्यालयले ५० पूर्णाङ्कको परीक्षाको लागि दुई घण्टा समय निर्धारण गरेको थियो । अघिल्लो वर्ष डेढ घण्टा रहेको र यस पटक नयाँ नियम लागू गरे पनि हिमालयन माविमा परीक्षा दिने विद्यार्थीले पुरा समय उपयोग गर्न नपाएका हुन् ।

सङ्खुवासभा जिल्ला शिक्षा समन्वय इकाई प्रमुख गोपाल भण्डारीले प्रश्न पत्रमा पनि डेढ घण्टा नै तोकेर आएको जानकारी गराए । यस विषयमा परीक्षा नियन्त्रक कार्यालयले इमेल मार्फत सम्पूर्ण इकाईलाई खबर गरेको र सोही अनुसार परीक्षा केन्द्रमा दुईघण्टा परीक्षा लिइएको भए पनि हिमालयन माविमा कार्यान्वयन नभएको स्वीकार गरे ।

त्रुटि भएको बताउँदै उनले उत्तर पुस्तीका परीक्षण केन्द्रमा विद्यार्थीलाई मूल्याङ्कनको आधारमा नम्बर दिन लिखित अनुरोध गर्ने बताए । परीक्षा सञ्चालन भइरहेको बेला खबर भए पनि केन्द्राध्यक्षले किन मान्नु भएन भन्ने जानकारी नभएको भण्डारीको भनाइ छ ।

परीक्षा नियन्त्रक कार्यालय काठमाडौँ उपनियन्त्रक भक्त गोदार प्रश्नपत्र तयार पार्ने समयमा त्रुटि भएको बताउँछन् । कार्यालयले जिल्लामा समन्वय गरेर पत्राचार गरे पनि सबैतिर सोही अनुसार कार्यान्वयन भएको जानकारी दिए । हिमालयन माविमा जिल्लाले खबर नगरेको वा परीक्षा केन्द्राध्यक्षले अटेर गरेको भन्नेबारे यकिन नभएको बताए ।

केन्द्राध्यक्ष राईले भने यसमा आफ्नो गल्ती नभएको प्रतिक्रिया दिएका छन् । प्रश्न पत्रका डेढ घण्टा तोकिएको र यसअघि पनि त्यति नै समय दिइने गरेको उनले बताए । आफूलाई कसैले पनि पत्राचार नगरेको र कुनै पनि जानकारी नआएको कारण विद्यार्थीले लेख्न नपाएको उनको भनाइ छ ।

himalayan-school-question