धरान : धरान मनिहारी तथा उपहार व्यापार सङ्घद्वारा आयोजित मनिहारी तीज उत्सव २०८१ का बिच आज शनिवार 'कपुरी न्यूज'की पत्रकार रश्मि प्रधान सम्मानित भएकी छन् ।
नेपाली महिलाहरूको महान् चाड हरितालिका तिजको पूर्व सन्ध्यामा आयोजित तीज उत्सव कार्यक्रम बिच प्रधानलाई सम्मानपत्र सहित २ हजार १ सय रुपैयाँ पनि प्रदान गरिएको थियो ।
उत्सवमा कोशी प्रदेश सांसद यशोदा कायस्थ प्रमुख अतिथि थिइन् । उनले नेपाली समाजमा महिलाहरू बिच एकता र सांस्कृतिक सद्भाव, सहिष्णुता कायम गर्दै चाडपर्वहरूले महिला सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताइन् ।
सांसद कायस्थले भनिन् ‘महिलाहरूलाई रचनात्मक, सिर्जनात्मक हुँदै आर्थिक रूपमा सबल सक्षम हुन तिज पर्वले प्रेरणा दिउन् ।’
धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र बिक्रम बेघाले बहुभाषिक बहुसाँस्कृतिक विविधतायुक्त सहर धरानमा सांस्कृतिक सद्भावलाई बाह्य तत्त्वले खलबल्याउन खोजे पनि यहाँको विशिष्टता भनेकै सद्भाव भएकोले सफल नहुने बताए ।
धरान बहुजातिय सांस्कृतिक सहरको रूपमा स्थापित भएको बताउँदै ‘सम्पूर्ण जातजातिहरू विशेष चाडपर्व नै धरानको संस्कृति विशेष पर्व र पहिचान हो ।’
सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले एक व्यक्तिले कमाएर सबै परिवार बसेर खाने प्रवृत्ति भएकोले नेपाल आर्थिक उन्नतिमा पछाडि परेको बताए । आर्थिक विकासको क्षेत्रमा महिला अगाडी बढेर व्यवसायीक गतिविधिमा अग्रसर नभए सम्म देशको अर्थतन्त्र सबल नहुने उनको भनाई थियो ।
उत्सवमा नृत्य प्रतियोगिताका साथै मेहन्दी लगाउने प्रतियोगिता समेत भएको थियो । मनिहारी तथा उपहार व्यापार सङ्घका अध्यक्ष रामस्वरुप शर्माको सभापतित्वमा भएको उत्सवको संयोजक दुर्गा काफले थिइन् ।
उत्सवमा इलाका प्रहरी कार्यालयका डिएसपी मानबहादुर राई, महिला संञ्जालकी पूर्व अध्यक्ष शिला बज्राचार्य लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू, धरान र इटहरीका व्यवसायी महिलाहरूको सहभागिता थियो ।