धरान : राष्ट्रिय स्वतन्त्र पार्टी धरान उपमहानगर समितिद्वारा शनिवार आयोजित 'बहसमा धरान' छलफलमा विभिन्न क्षेत्रका वक्ताहरूले धरानको विगत र वर्तमान अवस्था, विकासका विषयमा विचार राखेका छन् ।

आर्थिक विश्लेषक कृष्णकुमार अग्रवालले व्यापारिक रूपमा उत्कृष्ट धरान अहिले पछि परिरहेको बताए । उनले धरानका ९० अर्बको कुल ग्राहस्थ उत्पादनमा १५ प्रतिशत योगदान बीपी प्रतिष्ठान र औद्योगिक क्षेत्रको रहेको बताउँदै भने, ‘त्यसको व्यवस्थापन भइरहेको छैन । औद्योगिक क्षेत्रमा व्यवसाय गर्न ठाउँ नहुँदा व्यापारी पलायन भइरहेका छन् ।’

उनले धरानको विकासका लागि नीति नै परिवर्तन गर्नु पर्ने बताउँदै नीति नभएकै कारण पुँजीगत खर्च कम भइरहेको बताए । सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले विगतमा धरान पूर्वी पहाडी जिल्लाको व्यापारिक केन्द्र रहेको बताउँदै भने, ‘अहिले व्यापार खस्किएको छ । उद्योगी व्यवसायीले धरान छाडिरहेका छन् ।’

उनले उद्योग, कलकारखानाको विकासका लागि जग्गाको अभाव रहेको बताए । उनले धरानका नेतृत्वले स्वास्थ्य, शिक्षा, पर्यटन विकासको नारा मात्र लगाउने गरेको बताउँदै भने, ‘धरानका विकासमा तपाई हामी लाग्नुपर्ने दिन आएको छ ।’

बुद्धिजीवी डा.राजेन्द्र शर्माले धरानले अन्य क्षेत्रमा उत्कृष्ट व्यक्तित्वहरू उत्पादन गरेको बताउँदै राजनीतिक क्षेत्रमा भने केन्द्रमा पहुँच राख्ने नेतृत्व उत्पादन गर्न नसकेको बताए । सीप हुने व्यक्ति पेसा व्यवसायमा लाग्ने बताउँदै सीप कला नहुने व्यक्तिले राजनीति गर्ने परम्पराले राजनीति बिग्रिएको उनको भनाई थियो । उनले धरानका प्राय नेतृत्व आगन्तुक भएकाले पनि विकास नभएको बताए ।

विगतमा विभिन्न जातजाति, धर्म, समुदायका व्यक्ति मिलेर स्कुल, क्याम्पस स्थापना गरेको उदाहरण दिँदै उनले एकताको सूत्रमा रहेको धरान अहिले कता कता खलबलिएको जस्तो भएको बताए । कहिले जातका नाममा, कहिले धर्मका नाममा, पुराना मान्छेको भावनामा प्रहार भइरहेको उनको भनाई छ थियो ।

हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईले धरानमा प्राविधिक शिक्षालय खुल्न नसकेको बताए । स्थापित शैक्षिक संस्थामा पनि विद्यार्थी नभएको बताउँदै उनले धरानका विद्यार्थी अध्ययन लागि बाहिर जाने गरेको बताए । धरानका विद्यार्थी धरानमै पढाउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।

फोहोर मैला व्यवस्थापनका विषयमा प्रा.डा रिता खड्का र पर्यटनका विषयमा पर्यटन व्यवसायी बासुदेव बरालले विचार राखेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी धरानका अध्यक्ष सुमन श्रेष्ठले धरानको विकासका लागि के गर्न सकिन्छ भन्ने विषयमा चरणबद्ध बहस छलफल चलाउने बताए ।