वराहक्षेत्र : धरान उपमहानगरपालिका वडा नं. १७ बस्ने २७ वर्षीय सुनिल साह सुनसरी र उदयपुर जोड्ने कोसी नदीको पुलमा स्कुटर राखेर नदीमा हाम फालेर बेपत्ता भएका छन् ।

कोसी पुल स्थित प्रहरी बिटमा राखेको सिसी टिभीमा कैद भए अनुसार दिउसो ४ बजेर ३७ मिनेटको समयमा स्कुटर, हेलमेट, मोबाइल, पर्स कोसी पुलमा राखेर उनी कोसी नदीमा हाम फालेका थिए ।

प्रहरीका अनुसार उनी सुनसरी र उदयपुर जोडने चतरा स्थित कोसी पुलमा ४ बजेर ३० मिनेटमा को ९ प ९८६५ नम्बरको स्कुटरमा चतरातर्फबाट आएका थिए ।

स्कुटर पुलको बिचमा रोकेर उनी ४ बजेर ३७ मिनेटमा पुलबाट हाम फालेको सिसी टिभी फुटेजमा देखिएको छ।

प्रहरीका अनुसार कोसीमा हाम फाली बेपत्ता भएका सुनिलका मामा धरान-१७ का गोबानध्वज नेपाली सम्पर्कमा आएका छन् ।

उनी साँझ साढे ६ बजे घटना स्थल कोसी पुल आएका छन् । मोबाइल र सिम कार्डमा आधारमा हेर्दा कोसीमा हाम फाल्ने व्यक्ति आफ्नो भान्जा सुनिल साह रहेको उनले पुष्टि गरेका छन् ।

बुवा आमा नभएका सुनिल मामा घरमै बस्दै आएका थिए । पछि विवाह पश्चात् उनी धरान-१७ को मामा घर छोडेर धरान-१६ मा डेरा लिएर श्रीमतीसँग बस्दै आएको मामा गोबानध्वज नेपालीले जानकारी दिए । बेपत्ता भएका सुनिल गृल सम्बन्धी काम गर्ने गर्दथे ।