धरान : लाखे जात्रा सुरु भएपछि नेवार समुदायको परम्परागत सांस्कृतिक पर्वको रूपमा आज बुधवार बिहान धरानमा हिले जात्रा र साँझमा रोपाई जात्रा प्रदर्शन गरिएको छ ।

सदा झैँ यसपालि पनि खड्गी सेवा समाजको आयोजनामा हिले जात्रा र रोपाई जात्रा परम्परागत व्यङ्ग्यात्मक सडक प्रदर्शन गरिएको हो ।

नेवार समुदायको परम्परागत पर्व गाईजात्राको भोलिपल्ट आज हिले जात्रा मनाइएको हो । हिले जात्रा नेवार समुदायको महत्त्वपूर्ण पर्व मानिँदै आएको छ ।

हिले जात्रामा पुरुषहरू महिलाको भेष धारण गरेर विभिन्न रूपमा व्यङ्ग्यात्मक कला प्रस्तुत गर्दछन् । हलो, कोदाले, बाउसे, डोको र धानको बिउ बोकेर रोपाई नृत्य गर्दै हिले जात्रा मनाइन्छ । सडकमा हलो जोत्दै जात्रा प्रदर्शन गरिन्छ ।

हिले जात्रा धरान-३ स्थित खड्गी समाजको भवन देखि सुरु भई भानुचोक, छाता चोक हुँदै धरान उपमहानगरपालिका अगाडि प्रदर्शन गरिएको थियो । जात्रा सिंहदेवी चोक हुँदै बजार परिक्रमा गरी फर्किएको थियो ।

प्रत्येक वर्ष खड्गी सेवा समाजको आयोजना धरानमा हिले जात्रा र रोपाई जात्रा प्रदर्शन गरिँदै आएको छ । कोरोना महामारी पछि आर्थिक सङ्कटमा परेर बन्द भएको जात्राहरू अघिल्लो वर्ष देखि वडा ३ वडा कार्यालयको सहयोगमा मनाइँदै आएको खड्गी समाजका अध्यक्ष मनिष खड्गीले बताए ।

यो जात्रामा मनोरञ्जनात्मक सडक प्रस्तुतिहरूले दर्शकहरूलाई हँसाउने गरी हिलाम्मे किसान र मानिस नै हलगोरु बनेर मेलो छाडेर लाखापाखा लागेर दौडेर घर घर पसेर रोचक प्रदर्शन गरिन्छ ।

धरानमा बिहान हिले जात्रा सकेर साँझ ६ बजे रोपाई जात्रा निकालिएको अध्यक्ष खड्गीले बताए । किसानको जीवनलाई जीवन्त रूप दिन हिले जात्रा र रोपाई जात्रा मनाउने प्रचलन रहेको उनको भनाई छ ।

ropai-jatra-2hilo-jatra-dharan-2Ropai-jatra-3