धरान : नेवार समुदायको परम्परागत सांस्कृतिक संस्कार अनुसार दिवङ्गत भएका व्यक्तिको घरबाट निकालिने सपारु गाइजात्रा धरानमा आज मङ्गलवार बिहान सामूहिक रूपमा आयोजना गरियो ।
गाइजात्राका दिन नेवार समुदायका आफन्तजन गुमाएका परिवारले सामाजिक रूपमा एक आपसमा समवेदना व्यक्त गर्दै दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै सापारु गाईजात्रा निकाल्छन् ।
धरानमा सिद्धि नेवाः परिषद्को आयोजनामा २०५२ साल देखि सामूहिक गाईजात्रा निकाल्न थालिएको हो ।
यस वर्षमा मृतकहरूको सम्झनामा ३१ वटा गाईहरू सामूहिक रूपमा निकालिएको छ । धरान-७ स्थित परिषद् भवन परिसरमा भेला भई गाईजात्राले बजार परिक्रमा गरेको थियो। भानुचोक, छाता चोक, नेपाल टेलिकम देखि पुरानो बजार हुँदै पुनः परिषद् भवनमा पुगेर गाइजात्रा समापन गरिएको हो ।
गाई जात्रामा दिवागत व्यक्तिका सम्झनामा परिवारका सदस्य गाई वा मानिसलाई नै गाईको प्रतीकमा शृङ्गार गरेर प्रदर्शन गर्ने चलन छ ।
गाइजात्रा निकाल्दा सोही वर्ष भित्र दिवङ्गत भएका व्यक्तिहरूले वैतरणी पार गर्ने जनविश्वास रही आएको सिद्धि नेवाः परिषद्का अध्यक्ष राजबिमल श्रेष्ठले बताए । प्रत्येक वर्ष मनाइँदै आएको गाईजात्रा अरू ठाउँमा आफ्नै तरिकाले मनाउने भए पनि धरान सामूहिक रूपमा मनाइने प्रचलन रहेको उनको भनाई छ । 
अध्यक्ष श्रेष्ठका अनुसार धरानका सामाजिक क्षेत्रका अग्रज मानिएका दिवङ्गत प्रभुप्रसाद श्रेष्ठ र रम्भादेवी कर्माचार्यको शोकाञ्जलि रामायण पाठ साँझमा हुनेछ । 
गाईजात्राको औपचारिक कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्र विक्रम बेघा, कोशी प्रदेशका सांसद यशोदा कायस्थ लगायत सहभागी थिए ।
बेघाले नेवार समुदायले पितृहरूको योगदानलाई कदर गर्दै निधनपछि गरिने सम्मानको प्रचलन समुदायकै पहिचान र गौरव भएको बताए ।
आयातित संस्कार र संस्कृति अँगालेर कुसंस्कार फैलाउनु भन्दा परम्परागत संस्कार संस्कृतिलाई निरन्तरता दिइनु मौलिक संस्कृतिको संरक्षण भएको उनको भनाई छ ।
जनश्रुतिमा प्रचलित गाईजात्राको कथा अनुसार पुत्रशोकले विह्वल भएकी रानीलाई अरूले पनि यस्तै शोक व्यहोर्नु परेको भनेर देखाउनको लागि राजा प्रताप मल्लले मृत्यु भएका व्यक्तिको नाममा गाईजात्रा निकालेर सहर परिक्रमा गराउन आदेश दिएका थिए ।
सोही अनुसार सामूहिक रूपमा यो पर्व मनाउन सुरु भएको मानिन्छ । यसो गर्दा पनि रानी शोकबाट मुक्त हुन नसकेपछि राजाले विभिन्न व्यङ्ग्यात्मक कार्यक्रम गर्न आदेश दिएपछि हास्य व्यङ्ग्यको चलन सुरु भएको मानिन्छ ।
नेवार एकता समाजका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठका अनुसार गाईजात्रा शुभकामना आदान प्रदान गर्ने पर्व भने होइन । गाईजात्रा समवेदना श्रद्धाञ्जली दिने पर्व भएको उनको भनाई छ ।
उनका अनुसार सापारु अर्थात् गाईजात्रा आफन्तजन गुमाएका नेवार समुदायका परिवारले सामाजिक रूपमा एक आपसमा समवेदना व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्ने दिन हो ।
gaijatra dharan 2