विराटनगर : विराटनगरमा निकालिने राधाकृष्ण रथयात्रामा महाकुम्भ जतिकै हुने भिडको सुरक्षा व्यवस्थाका लागि सिसी क्यामराबाट निगरानी गरिने भएको छ ।

महानगरपालिका स्थित नगर प्रहरीको कन्ट्रोल रुमबाट रथयात्राको सुरक्षा व्यवस्था, आपराधिक गतिविधिको निगरानी गरिने नगर प्रहरीका प्रमुख राजन पौडेलले बताए ।

राधाकृष्ण मन्दिरदेखि रोडशेष चोकसम्म जडान गरिएका सिसी क्यामराबाट रथयात्रामा हुने भीडको फाइदा उठाउँदै चोरी, पकेटमारा, महिलामाथि हुने दुर्व्यवहार लगायतको निगरानी गरिने भएको हो ।

कसैले त्यस्तो गतिविधि गरेको देखिए तत्कालै नेपाल प्रहरी र सशस्त्र प्रहरीको समन्वयमा पक्राउ गरिने नगर प्रहरी प्रमुख पौडेलले बताए ।

रथयात्रा प्रस्थान विन्दु राधाकृष्ण मन्दिरदेखि रोड शेषसम्मका विभिन्न चोक र स्थानमा महानगरपालिकाले जडान गरेका ३७ वटा सिसी क्यामरा सञ्चालनमा छन् । रोड शेषदेखि बरगाछी सम्म प्रहरीले जडान गरेका क्यामरा र महानगरपालिकाको ३७ क्यामराबाट पनि जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमले निगरानी गर्नेछ ।

हरेक वर्ष राधाकृष्ण रथयात्रामा हजारौँको सहभागिता हुने गरेको छ । रथयात्रामा विराटनगर, आसपासका गाउँपालिका साथै सिमावर्ती भारतका विभिन्न स्थानबाट भक्तजनहरू आउने गरेका छन् ।

यसपालि रथयात्रामा भक्तजनको सङ्ख्या ५ लाख हुने आयोजकले अनुमान गरेको छ । कृष्णजन्माष्टीको भोलिपल्ट निकालिने रथयात्रा आज मंगलबार निकालिँदै छ ।