धरान : धरानमा पहिलो पटक आयोजना गरिएको महिला उद्यमीहरूका उद्यम, उत्पादन र व्यवसायको प्रदर्शनीको तयारी पुरा भएको सुनसरी उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

प्रदर्शनी भोली बिहीबार भदौ १३ गते १ बजे कोशी प्रदेशका मुख्यमन्त्री कार्यालयकी राज्यमन्त्री सिर्जना राईले उद्घाटन गर्दैछिन । प्रदर्शनी तथा विक्री भदौ १५ गते सम्म चल्नेछ । सङ्घको धरान-१ स्थित भवनमा आयोजना गरिएको महिला उद्यम प्रदर्शनीको सबै तयारी प्रायः पुरा भएको हो ।

संयोजक वर्षा अग्रवालका अनुसार भवनको ग्राउण्ड फ्लोर र मिलेनियम सभा हलमा कुल ४५ स्टलहरू तयार गरिएको छ । ग्राउण्ड फ्लोरको पुरानो सभाहलमा विजयपुर अस्पतालद्वारा स्वास्थ्य सेवा तथा आँखा शिविर सञ्चालन हुनेछ ।

स्टलहरूमा सबै भन्दा बढी महिलाहरूका घरेलु उत्पादन दैनिक उपभोग्य खाद्य वस्तुका १५ स्टलहरू रहेका छन् । शृङ्गारका १०, पहिरनका ३, गरगहनाका ३, प्रदर्शनीमा आउनेहरूका लागि परिकारका ७ स्टलहरू रहेका छन् ।

कुशेऔंशी बाबुको मुख हेर्ने दिनलाई लक्ष्यीत गरेर प्रदर्शनीमा ‘गिफ्ट ह्याम्पर’को स्टल पनि राखिएको संयोग वर्षा अग्रवालले बताइन् । साथै चस्मा, गमला, स्टेशनरी र कृषि उत्पादन मध्ये फलफूलको स्टल पनि राखिएको छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घ स्थापना भएको ६१औ वार्षिकोत्सव मनाउन आयोजित प्रदर्शनीको उद्घाटन समारोह भवनको तेस्रो तला स्थित सेमिनार हलमा हुने सङ्घका अध्यक्ष विजय श्रेष्ठले बताए ।

धरानको व्यापार व्यवसायको क्षेत्रमा मन्दी छाएको बेला चाडबाडलाई लक्षित गरेर महिलाहरूको उद्यमलाई प्रोत्साहित गर्न प्रदर्शनी आयोजना गरिएको हो ।

उनले भने ‘महिला उद्यमी प्रदर्शनीले धरानको बजारमा चहल पहल ल्याउने हामीले विश्वास गरेका छौँ ।’ प्रदर्शनीले महिला उद्यमीहरूद्वारा उत्पादित बस्तुहरूको व्यापार प्रवर्द्धन, प्रचार प्रसारमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

mela-tayari-dharan