धरान : अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टले यदी रुसी राष्ट्रपति भ्लदिमिर पुटिन मङ्गोलियाको भ्रमणमा आएमा आईसीसी सदस्य देशको हैसियतले उनलाई गिरफ्तार गर्नु मङ्गोलियाको 'दायित्व' भएको’जनाएको छ ।
राष्ट्रपति पुटिन मङ्गलवार मंगोलियको भ्रमणमा जान कार्यक्रम छ । बीबीसीका अनुसार अन्तर्राष्ट्रिय क्रिमिनल कोर्ट (आईसीसी)को सदस्य देशमा राष्ट्रपति पुटिनको यो पहिलो भ्रमण हुनेछ ।
शुक्रवार आईसीसीका प्रवक्ता डा.फार्दी एल-अव्दल्लाहले भने ‘कोर्टको आदेश पालना मङ्गोलिया सहित सदस्य देशहरूमा निर्भर गर्दछ ।’ मङ्गोलिया सहित आईसीसी सदस्य देशहरूले आफ्नो दायित्व निर्वाह गर्नु पर्दछ।' अन्तर्राष्ट्रिय क्रिमिनल कोर्ट नेदरल्याण्डमा छ ।
मार्च २०२३ मा आईसीसीले पुटिनको गिरफ्तारीको वारेन्ट जारी गरेको थियो । कोर्टले पुटिन युद्ध अपराधका जिम्मेदार भएको ठहर गर्दै गिरफ्तारीको वारेन्ट जारी गरेको हो । रुस र युक्रेनको युद्ध शुरु भएपछि युक्रेनको बालबालिकालाई गैरकानुनी तरिकाले रुस लगिएको आरोप पनि पुटिन माथि लागेको छ ।
रुसले भने पुटिन माथि लगाइएको आरोपको निराधार भएको जनाउँदै आएको छ । आईसीसीले पुटिनको गिरफ्तारीको वारेन्ट जारी गर्नु रुसको लागि 'अपमानजनक' भएको बताएको छ ।
युक्रेनका अधिकारीहरूले पनि मङ्गोलिया भ्रमणमा आए राष्ट्रपति पुटिनलाई गिरफ्तार गर्न माग गरेको छ । युक्रेनको विदेश मन्त्रालयले भनेको छ ‘पुटिन युद्ध अपराधी भएको मङ्गोलियालाई थाहा भएको हामी आशा गर्दछौँ ।’रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले पुटिनको मङ्गोलिया भ्रमणलाई लिएर ‘कुनै चिन्ता नभएको’ जनाएको छ । प्रवक्ता दिमित्री पेस्कोले भने ‘मङ्गोलियामा हाम्रा सहयोगीहरूसँग राम्रो सम्बन्ध छ, तैपनि राष्ट्रपतिको भ्रमणका लागि हामीले सतर्कताका अपनाएका छौँ ।’