ईटहरी : इटहरी खानेपानी उपभोक्ता संस्थाको अध्यक्ष उपभोक्ता स्वयम्ले चयन गर्न पाउनुपर्ने माग राख्दै नेपाली काँग्रेस र राप्रपाले प्रेस विज्ञप्ति जारी गरेका छन् ।
असोज ३ गते बिहीबार भएको साधारण सभामा नेकपा एमालेले बहुमतको आडमा पेल्न खोजेको बताउँदै विधान संशोधन हुनुपर्ने माग राखेका हुन् ।
विधानमा संशोधन जरुरी रहेको बताउँदै दुवै दलले एक कार्यकाल सदस्य वा पदाधिकारी भएको व्यक्ती मात्र अध्यक्ष हुन पाउने व्यवस्था खारेज गर्नुपर्ने बताएका हुन् ।
बिहीबारको साधारण सभामा विधान संशोधन प्रस्ताव पेस गर्न लागिएको तर एमालेले बहुमतको बलमा प्रस्ताव टेबल समेत गर्न नदिएको काँग्रेस नगर उपसभापति बालकृष्ण विष्टले बताए ।
विष्टका अनुसार खानेपानी जडानको शुल्क घटाउने देखि वडास्तर सम्म सेवा प्रवाह गर्ने माग राखिएको छ । दुवै दलहरूले जारी गरेको विज्ञप्तिमा धारा जडानमा एकमुष्ट १० हजार ५ सय मात्र शुल्क कायम राख्न माग गरिएको छ ।
वडा स्तरमा महसुल काउन्टर स्थापना गर्नुपर्ने, आगालागि नियन्त्रणका लागि धाराको पाइप तयारी अवस्थामा राख्नुपर्ने, तथा मन्दिर, गुम्बा, मस्जिद, चर्चमा खानेपानीको धारा निःशुल्क जडान गर्नुपर्ने माग उल्लेख गरिएको
छ ।