धरान : गैरकानुनी रूपमा राजमार्गका सडकमा पालिकाहरूले उठाउने गरेको पटके कर नउठाउन कोशी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै स्थानीय सरकारहरूलाई निर्देशन सहित पत्राचार गरेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ सहित यातायात व्यवसायीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कर असुली नरोकिए आन्दोलनमा उत्रिने १५ दिने अल्टिमेटमा दिएका थिए ।

यातायात व्यवसायीको उक्त मागलाई सम्बोधन गर्दै प्रदेश सरकारले असोज १५ गते बुधवार सबै स्थानीय निकायलाई पटके कर नउठाउन लिखित निर्देशन दिएको हो ।

कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका अधिकृत दीपक दाहालले कोशी प्रदेशका सबै स्थानीय निकायलाई पत्र पठाएर राजमार्गका सडकमा सवारी कर नउठाउन लिखित निर्देशन दिएको बताए ।

यातायात व्यवसायी महासङ्घका कोशी प्रदेश संयोजक सरोज श्रेष्ठका अनुसार स्थानीय सरकारले राजमार्गका सडकमा क्षेत्राधिकार प्रयोग गर्दै मनपरी पटके कर उठाएको विरोधमा यातायात व्यवसायीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउँदै पटके सवारी कर पूर्णरुपमा बन्द गर्न माग गरेको थियो ।

राजमार्गमा कुदिरहेका सवारी साधन रोकेर पटके कर उठाउने गरेको उनले बताए । त्यसबाट दुर्घटनाको जोखिम र गैरकानुनी करले यातायात व्यवसायी मारमा पारेको उनको भनाई छ ।

यातायात व्यवसायीहरूले प्रत्येक स्थानीय तहमा सवारी कर तिर्दा व्यवसाय धराशायी बनेका कारण कर नउठाउन माग गरेको हो । प्रदेश सरकारले यातायात व्यवसायीको मर्म बुझेर दिएको निर्देशनले यातायात व्यवसायीलाई राहत मिलेको छ ।

CM-office-letter

Palika-tax