धरान : मोरङको पथरीशनिश्चरे-७ मायालु चोकमा ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या भएको घट्नामा संलग्न भएको आरोपमा सोही वडाकी एक महिला ३० वर्षीया सुष्मा राईलाई प्रहरीले पक्राउ गरेको छ ।

ससुराको हत्या गर्ने ज्वाइँलाई भाग्न मद्दत गरेको आरोपमा सुष्मालाई प्रहरीले पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी मोहनविक्रम दाहालले बताए ।

तामाङको शव उनकै घरको प्यासेजमा रगतमा डुबिरहेको अवस्थामा गत असोज ५ गते बिहान फेला परेको थियो । डिएसपी दाहालका अनुसार टाउको र चिउँडो लगायत शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको पाइएको थियो ।

उनले भने ‘चन्द्रबहादुरको हत्या आफ्नै ज्वाइँ २७ वर्षीय रविन राईले गरेका हुन ।’ ससुराको हत्या गरेपछि रविनलाई सुष्माले भाग्न सहयोग गरेको पाइएको डिएसपी दाहालले बताए । उनका अनुसार ससुराको हत्या गरेपछि सुष्माको घरमा पुगेर रविनले घटनाको बारेमा बताए ।

डिएसपी दाहालले भने ‘त्यसपछि सुष्माले रविनलाई भगाउन भूमिका खेलेको पत्ता लाग्यो, गाडी भाडा बापत २ सय रुपैयाँ समेत दिएर पठाएको यकिन भएको छ ।’

घरमा सँगै बसेर मादक पदार्थ सेवन गरेपछि सामान्य विवाद भएको थियो । त्यही झगडाको निहुँमा रविनले ससुराको हत्या गरेको प्रहरीको भनाई छ । घटनापछि फरार भएका रविन भोलिपल्ट धनकुटाको मूलबाटबाट पक्राउ परेका थिए ।

घटनाका बारेमा प्रहरीलाई खबर गर्नुपर्नेमा उल्टै हत्यामा संलग्नलाई भगाउन भूमिका खेलेका कारण सुषमालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइएको हो । डिएसपी दाहालका अनुसार सुष्मा विरुद्ध कर्तव्य ज्यान कसुरको मतियार रहेको मुद्दा चलाउन अदालतबाट म्याद थप गरिएको छ ।

हत्याका अभियुक्त रविनको बयानका आधारमा सुष्मालाई प्रहरीले मङ्गलवार घरबाटै पक्राउ गरेको हो । प्रहरीका अनुसार उनका पति जमकुमार राई वैदेशिक रोजगारीमा दुबईमा छन् । सूष्माका १ छोरा र २ छोरी छन् ।

हत्याका अभियुक्त रविन ससुराली घरमा बस्दै आएका थिए । रविनको घर पनि ससुराली घर नजिकै छ । मृतक चन्द्रबहादुरकी छोरी रविनकी श्रीमती विदेशमा रहेको प्रहरीले जनाएको छ । चन्द्रबहादुरका २ छोरा, १ छोरी र श्रीमती सबै जना विदेशमा रहेको डिएसपी दाहालले बताए ।

मृतक चन्द्रबहादुरको हत्यामा संलग्न रविन विरुद्ध कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यसमा सुष्मा थपिएकी छन्।