विराटनगर : कोशी प्रदेश लगानी सम्मेलनमा स्वदेशी लगानीकर्तालाई पनि आकर्षित गर्नु पर्ने साथै भारतीय उद्योगपतिहरूलाई आकर्षित गर्ने योजनासँगै कानुनी जटिलता सहज बनाउन सुझाव दिइएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा शुक्रवार बसेको लगानी सम्मेलन तयारी सम्बन्धी पहिलो बैठकमा सहभागीहरूले उक्त सुझाव दिएका हुन । प्रदेश सरकारले माघ ११, १२ र १३ गते गर्ने कोशी प्रदेश लगानी सम्मेलन गर्ने भएको छ ।

बैठकमा मुख्यमन्त्री कार्कीले सङ्घ सरकार, स्थानीय सरकार र निजी क्षेत्रको समन्वय र सहकार्यमा सम्मेलन सफल पार्नुपर्ने बताए । उनले ढुङ्गाभित्रबाट पनि पिपलको बोट उम्रिने बताउँदै भने ‘प्रदेश सरकारसँग अनेकौँ चुनौती छन् पिपलको बोट उम्रिएजस्तै अघि बढ्नु पर्ने भएको छ ।’

उनले एउटा पिपल अनेक अप्ठ्यारोमा पनि उम्रिन्छ भने, समृद्धिका लागि हाम्रो सङ्कल्पले त्यसरी नै लगानी सम्मेलन सफल हुने बताउँदै भने ‘कानुनी जटिलताहरूलाई सहजकरण गर्नका लागि सङ्घीय सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

लगानी सम्मेलनको अवधारणापत्र गत असोज १३ गते मन्त्रिपरिषद्को बैठकले पारित गरेपछि मूल आयोजक समिति निर्माण गरी काम सुरु गरिएको हो ।

बैठकमा सम्मेलनको तयारीका लागि योजनाहरू बनाउने र परियोजनाहरूको तयारी गर्ने र त्यसलाई लगानीकर्ता माझ प्रस्तुत गर्न मस्यौदा गर्ने बैठकमा छलफल भएको थियो ।

कोशी प्रदेश सरकारले निजी क्षेत्रका प्रदेश उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्गठन मोरङ, मोरङ उद्योग व्यापार सङ्घ, नेपाल चेम्बर अफ कमर्श प्रदेश समिति, नेपाल उद्योग परिसंघ, प्रदेश सहकारी सङ्घ, विराट व्यापार सङ्घलाई सहसंयोजक सहने गरी मूल आयोजक कमिटी गठन गरेको छ ।

कमिटीमा प्रदेशका मन्त्रीहरू, निजी क्षेत्रका अगुवाहरू र सङ्घसंस्थाहरू सदस्य रहेका छन् । सम्मेलनको तयारीलाई तीव्रता प्रदान गर्न दशैं अघि नै लगानी सम्मेलनको सचिवालय निर्माण गर्ने तयारी समेत भएको छ ।

कोशी प्रदेशका सभामुख संयोजक रहने गरी सल्लाहकार समिति, प्रदेश लगानी प्राधिकरणका कार्यकारी प्रमुखको नेतृत्वमा परियोजना तयारी समिति, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाको नेतृत्वमा लगानी सम्मेलन निर्देशन समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीको नेतृत्वमा नीतिगत तथा कानुनी सुधार समिति गठन गरिएको छ ।

प्रदेश लगानी सम्मेलन तयारीको पहिलो बैठकमा सहभागीहरूले स्वदेशी लगानीकर्ता सहित भारतीय उद्योगपतिहरूलाई आकर्षित गर्ने गरी योजना बनाउनु पर्ने सुझाव दिएका हुन । उनीहरूले लगानी भित्र्याउन कानुनी जटिलतालाई छिटो र छरितो ढङ्गले निरूपणको बाटो सहज बनाउनु पर्ने सुझाव पनि दिएका छन् ।

प्रदेश लगानी सम्मेलनलाई महत्त्वाकाङ्क्षी कार्यक्रमको रूपमा लिएर कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा लगानी सम्मेलन गर्ने घोषणा गरेको थियो ।

lagani-chaphal-2