इटहरी : असोज १७ गते बिहीबार बिहान साढे १० बजे पूर्व पश्चिम राजमार्गमा यात्रुबहाक बस दुर्घटना भयो । समाचार तयार पार्दा सम्म दुर्घटनाको कारण कसैको मृत्यु नभए पनि ३० जना घाइते भए ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गएको को १ ख ७२१६ नम्बरको बस र विपरीत दिसातर्फ जाँदै गरेको मे १ ख २६२८ नम्बरको बस एक आपसका ठोक्किए । एक प्रत्यक्षदर्शीका अनुसार दुवै गाडी तीव्र गतिमा रहेको र ब्रेक लगाउँदा चिप्लिएर दुर्घटना भएको हो । दुर्घटना पछि लामो समय राजमार्ग अवरुद्ध रह्यो ।

पूर्व पश्चिम राजमार्गमा बिहानै देखि यात्रुबहाक बस तीव्र गतिमा गुड्ने गरेको गछियाका एक व्यवसायीले बताए । यात्रु बोक्ने होडबाजीले बारम्बार दुर्घटना भइरहेको र मुख्यतः यात्रुबहाक बसमा धेरै यो समस्या देखिएको उनको भनाइ छ ।

कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको तथ्याङ्क अनुसार पनि तीव्र गतिले धेरै दुर्घटना भएको देखिएको छ । दुर्घटनाको मुख्य कारणमा चालकको लापरबाही र तीव्र गति बढी देखिएको हो । आर्थिक वर्ष २०७८/०७९ मा ५३१ जनाको मृत्यु ६ हजार ६४८ घाइते, २०७९/८० मा ४१२ मृत्यु ५ हजार ६०७ घाइते र आर्थिक वर्ष २०८०/०८१ मा ३९७ जनाको मृत्यु र ६०७६ जना घाइते भएको तथ्याङ्क छ ।

तीन आर्थिक वर्षमा ४ हजार ६०६ दुर्घटना तीव्र गतिको कारण भएको पाइएको छ । सबैभन्दा धेरै आर्थिक वर्ष २०७८/०७९ मा १८०१ र गत आर्थिक वर्षमा पनि १४१३ दुर्घटना तीव्र गतिकै कारण भएको पाइएको छ ।

त्यसबाहेक चालकको लापरबाहीको सङ्ख्या भने बढिरहेको छ । २०७८/०७९ मा ७२२ र त्यसयता क्रमशः १००६, १२०८ दुर्घटना चालकको लापरबाहीका कारण भएको उल्लेख छ । उता मादक पदार्थ सेवनको सङ्ख्या भने घटिरहेको तथ्याङ्कमा देखिएको छ । तीन आर्थिक वर्षमा क्रमशः ३४२, २११ र १९७ दुर्घटना चालकले मादक पदार्थ सेवनका कारण भएका छन् । त्यसबाहेक ओभर लोड, यात्रुको गल्ती, चौपाया, सडकको अवस्था, मौसम र यान्त्रिक गडबडीको कारण दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ ।

तथ्याङ्कले नै दुर्घटनाको मुख्य कारण तीव्र गति देखाइरहेको अवस्थामा ट्राफिक प्रहरीले भने थप रणनीति बनाउन सकेको छैन । गत मङ्गलवार इटहरीको बसपार्कमा यात्रु सहायता कक्ष स्थापना भयो । चाडपर्वको समयमा जिल्ला बाहिर आउने र जाने यात्रुलाई सहयोग पुर्‍याउने हेतुले सहायता कक्ष खोलिएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले बताए ।

चाडपर्वको समयमा यात्रुको चाप बढ्ने र जतिसक्दो धेरै यात्रु आफ्नो गाडीमा चढाउन होडबाजीमा भने प्रहरीले नियन्त्रण गर्न सकेको छैन । यात्रुलाई गन्तव्य सम्म पुग्नुपर्ने समस्या र स्पष्ट नीतिको अभावमा प्रहरी निरीह देखिएको छ ।

प्रहरी उपरीक्षक पौडेलले यस विषयमा थप योजना बनाएर अगाडी बढ्ने बताएका छन् । कपुरी न्यूजसँग कुरा गर्दै उनले यातायात व्यवसायीसँग छलफल गरेर तीव्र गति नियन्त्रणको प्रयास थालिने बताए । यात्रु र व्यवसायीलाई समस्या नपर्ने गरी दुर्घटना न्यूनीकरणको विषयमा कदम चालिने उनको भनाइ छ ।