धरान : गाजा क्षेत्रमा प्यालिस्टाइनीहरु माथि इजरायलले आक्रमण सुरु गरेको १ वर्ष पुरा भएको दिन ७ अक्टोबर आज सोमवार हमासले इजरायली राजधानी तेल अभिभमा रकेट प्रहार गरेको छ ।

इजरायली डिफेन्स फोर्स आइडिएफले हमासले गाजाको खान युनिसबाट तेल अभिभमा ५ रकेट आक्रमण भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । आक्रमणमा २ इजरायली महिला घाइते भएका छन् ।

यस्तै हमासले दक्षिणी गाजाबाट ४ रकेट प्रहार गरेकोमा इजरायलले ३ वटा रकेटलाई ‘इन्टरसेप्ट’ गरेको जनाएको छ ।

इजरायली सेनाले उनीहरू लेबनान र गाजा क्षेत्रमा रहेका हिजबुल्लाह र हमासको अखडाहरूमा हमला गरिरहेको जनाएको छ ।

यसै बिच इजरायली आक्रमणको १ वर्ष पुरा भएको दिन हिजबुल्लाहले पनि इजरायलमाथि मिसाइल आक्रमण गरेको छ । उक्त आक्रमणमा १० जना इजरायली घाइते भएको समाचारमा जनाइएको छ ।

हमास र हिजबुल्लाहको आक्रमण लगत्तै इजरायलले उत्तरी गाजाका सर्वसाधारणलाई उक्त इलाका खाली गर्न चेतावनी दिएको छ । यसअघि हिजो आइतबार इजरायलले गाजाको मस्जिद र स्कुलमा गरेको आक्रमणमा २० जना प्यालेस्टाइनीको मृत्यु भएको थियो । हवाई आक्रमणमा मस्जिद ध्वस्त भएको थियो ।