धरान : दशैं नजिकिएसँगै लागुऔषध, विस्फोटक पदार्थ, पटाका लगायतका वस्तुहरू चेकजाँच गर्न धरामा प्रहरीले तालिम प्राप्त कुकुर प्रयोग गर्न थालेको छ ।

चेकजाँचमा कुकुर प्रयोग गरे लगत्तै प्रहरीले प्रतिबन्धित लागुऔषधि ट्रामाडोल १५ हजार ट्याब्लेट सहित २ जना युवा र एउटा मोटरसाईकल पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालयका डिएसपी प्रकाश जबेगुले धरानमा सम्भावित असुरक्षा र दुर्व्यसन, लागूपदार्थ ओसारपसारलाई नियन्त्रण गर्न चेकजाँचमा तालिम प्राप्त कुकुरको प्रयोग गर्न थालिएको बताए ।

उनले भने ‘चाडपर्वको समयमा हुन सक्ने सम्भावित खतरालाई न्यूनीकरण गर्न सुरक्षा व्यवस्था कडा बनाइएको हो ।’

उनका अनुसार चाडपर्वमा सवारी साधनहरूमा लुकाइ छिपाइ विस्फोटक पदार्थ, लागूऔषध तथा अवैध हातहतियार समेत ओसारपसार हुनसक्ने सम्भावना भएकोले यात्रुहरूको सुरक्षा समेतलाई ध्यानमा राखी चेकजाँच कडा गरिएको छ ।

धरान दुर्व्यसनीको सहर बनेकाले ओसारपसारमा कडाइ गर्न पनि कुकुर परिचालन गरिएको उनले बताए ।

चाडपर्वलाई लक्षित गरी गत मङ्गलवार देखि सुरु भएको चेकजाँचमा सवारी धनीले बढी भाडा अशुल्ने, गाडी प्रयोग गरी चोरी डकैती गर्ने, खुल्ला लागूपदार्थ ओसार पोसार नियन्त्रण गर्न शङ्कास्पद स्थानमा कुकुर प्रयोग गर्न थालिएको हो ।

डिएसपी जवेगुले तीव्र गरिएको चेकजाँचमा अहिले सम्म प्रतिबन्धित लागुऔषध ट्रामाडोल १५ हजार बरामद गरिएको बताए । लागुऔषध सहित २ जना मानिस र एउटा मोटरसाईकल पक्राउ गरिएको उनले जानकारी दिए ।

चाडपर्वको समयमा कुटपिट, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिरा बिक्री, आगजनी, विष्फोटन, तस्करी, चोरी, निकासी, दुर्घटना, ठगी, ट्राफिक नियमको उलङ्घन हुने गरेको छ ।

त्यस्ता क्रियाकलापका साथै सर्वसाधारणको बढी भिडभाड हुने स्थानहरू, मठ मन्दिर, गुम्बा, व्यापारिक केन्द्र, बैङ्क तथा सुन पसलमा उच्च निगरानी राखिने इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

धरानबाट ईन्सपेक्टर कोमल ठाकुरको कमाण्डमा १० जना प्रहरी र  कोशी प्रदेश प्रहरी कार्यालय सङ्घीय शाखा धरानबाट सई यम बहादुर श्रेष्ठको कमाण्डमा ५ जना सहित २ वटा तालिम प्राप्त कुकुर र ट्राफिक प्रहरी १ जना सहित १६ जनाको संयुक्त टोली खटिएको  डिएसपी जवेगुले जानकारी दिए ।

संयुक्त टोलीले धरानको सीमा नाकाको स्थानहरूमा साना तथा ठुला सवारी साधनहरूमा कडाइका साथ नियमित चेकजाँच गरिरहेको छ । उनले भने ‘चेकजाँच नियमित भए पनि चाडपर्वमा सुरक्षाको हिसाबले बढी सक्रियता बढाइएको छ ।’

police-checking-8police-checking-6police-checking-7police-checking-4police-checking-2Police-checking-3