धरान : काठमाडौँ मात्र नभएर दशैंको बेला गाउँबाट पढाई, व्यवसाय, लगायत अवसरको खोजीमा शहरी क्षेत्रमा आएकाहरू घर फर्किदा धरान बजार शून्य भएको छ।

पछिल्लो समय बढ्दो सहरीकरणसँगै भिडभाड रहने धरान बजार दशैंको अष्टमी सम्म आइपुग्दा शून्य बनेको छ । बजारमा प्रायः सबै पसलहरू बन्द छन् । भाडामा बस्नेहरूको कोठामा ताल्चा लागेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश संयोजक सरोज श्रेष्ठका अनुसार धरानको व्यापार व्यवसाय, स्कुलहरूका साना देखी प्लस टु सम्मका विद्यार्थीहरू अभिभावकसँग अधिकांश पूर्व पहाड लगायत विभिन्न जिल्लाबाट आएर बस्ने गरेका छन् ।

उनीहरू दसैँ मनाउन घर गएपछि धरान बजार प्रायः शून्य हुने गरेको उनले बताए । श्रेष्ठले भने ‘धरानलाई कार्य क्षेत्र बनाएर पहाडी एरियाबाट धरानमा डेरा लिई बस्ने मानिसहरू सबै दशै मनाउन घर फर्किएका छन् ।

अष्टमी सम्म धरान हुँदै सार्वजनिक सवारी साधनमा २ लाख ५० हजार मानिस दसैँ मनाउन पहाडी जिल्ला तर्फ लागेको उनले बताए । धरानको आधा जनसङ्ख्या पूर्वका पहाडी जिल्ला धनकुटा तेह्रथुम, भोजपुर, सङ्खुवासभा, ताप्लेजुङका छन्, उनीहरू दसैँ मनाउन थातथलो पहाड तिर लागेका हुन ।

संयोजक श्रेष्ठले भने ‘आज शुक्रवार साँझ सम्ममा साढे ३ लाखको हाराहारीमा यात्रुहरू धरान हुँदै बाहिरिने अनुमान गरिएको छ ।’ यस क्रममा धरान भित्रिने सङ्ख्या २० प्रतिशत मात्र भएको र बाहिरिने सङ्ख्या ८० प्रतिशत रहेको उनले बताए ।

धरानबाट पहाडी इलाका जाने गाडीहरूमा चाप बढेको छ । तराई जाने गाडी सङ्ख्यामा चाप घटेको उनको भनाई छ । पहाडी जिल्ला जाने यात्रु बढेकाले सार्वजनिक बसमा चाप बढेको हो । श्रेष्ठले भने ‘पहाडतिर जाने गाडीको क्षमताले भ्याए सम्म यात्रु बोकी रहेका छन्, तैपनि बसको कमी छ ।’

उनका अनुसार पहाडी जिल्ला जाने गाडी धरान देखि भन्दा बढी इटहरीबाट आउने र धरानबाट पनि यात्रुहरू चढाउने भएकाले धरानबाट मात्रै कति यात्रु पहाड लागे एकिन भन्न गाह्रो छ । उनले भने ‘तर गाडी इटहरी र धरानबाट पहाडी जिल्ला जाने भएकाले धरानकै यात्रुसंख्या धेरै भएको अनुमान गरेका छौँ ।’

जिल्ला ट्राफिक कार्यालय धरानका प्रमुख वीरेन्द्र सिंह थापाले बाढी पहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम यातायातका साधन बाहिरिएका छन् । दैनिक २५ देखि ३० वटा गाडी धरानबाट पहाडी जिल्ला बाहिरिने गरेको उनले बताए ।

उनले भने ‘गाडीहरूले दिनमा २ पटक सम्म पहाडी एरिया यात्रुहरू ओसार पोसार गरिरहेका छन् ।’ ट्राफिक प्रमुख थापाले दशैंमा आवत जावत बढ्ने हुँदा सडक दुर्घटना न्यूनीकरण गर्न सजगताका साथ राजमार्गहरूमा ‘चेक’ पनि जानकारी दिए ।