धरान : दक्षिणी लेबनान स्थित ब्लु लाइन नजिक इजरायली गोलाबारीमा संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको २ जना सैनिक घाइते भएका छन् ।

समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार दक्षिणी लेबनान स्थित संयुक्त राष्ट्र पिसकीपर्सको शान्ति सेनाको चौकीमा इजरायली सेनाले गोलाबारी गरेको छ ।

उक्त घट्नामा शान्ति सेनाको दुई सैनिक घाइते भएका हुन । तर, इजरायली सेनाले गोलाबारीको बारेमा कुनै टिप्पणी गरेको छैन ।

लेबनान र इजरायलको सिमाना छुट्याउने ‘ब्लु लाइन’ संयुक्त राष्ट्र सङ्घको नियन्त्रणमा छ । ब्लु लाइनमा शान्ति सेना घाइते भएको घट्नाप्रति भारत सरकारले चिन्ता जनाएको छ ।

घटना सार्वजनिक भए लगत्तै भारतीय विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा चिन्ता प्रकट गर्दै भनेको छ ‘ब्लु लाइन नजिक बिग्रँदो सुरक्षा स्थितिको बारेमा हामी चिन्तित छौँ, परिस्थितिलाई सूक्ष्म रूपमा हेरिरहेका छौँ ।’

भारतले 'ब्लु लाइन'मा संयुक्त राष्ट्रसङ्घ परिसरलाई सबैले सम्मान गर्नुपर्ने कुरामा जोड दिदैं राष्ट्रसङ्घीय शान्ति सैनिकहरूको सुरक्षाका लागि उचित कदम उठाउनु पर्ने बताएको छ ।