विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दशैं नजिकै कोशी प्रदेशको केही जिल्ला सहित देशको विभिन्न भागमा आएको बाढी पहिरोले जनधनको ठुलो क्षति पुर्‍याएको उल्लेख गर्दै विपद्को सामना गर्दै आपसमा सहयोग, सद्भावका साथ दशैं मनाउन आग्रह गरेका छन् ।
विजया दशमी २०८१ को अवसरमा आज जारी शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले विपद्लाई साहसमा बदल्न सबैको सहकार्य र हातेमालो जरुरी भएको बताएका छन् ।
नेपालीहरूको महान् चाड दशैंको शुभ अवसरमा कोशी प्रदेश सहित देश विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई मुख्यमन्त्री कार्कीले सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
सन्देशका भनिएको छ ‘दशैंले हामी सबैमा नयाँ उत्साह र उमङ्गका साथ असल कामहरू गर्न हौसला र सकारात्मक ऊर्जा प्रदान गर्न दुर्गा भवानीबाट आर्शिवाद प्राप्त होस ।’
दशैंमा मान्यजनप्रति श्रद्धा र सम्मान स्व:स्फूर्त अभिव्यक्त हुने प्रचलनले यस पर्वको महत्त्व बढेकोले मुलुकमा परम्परागत रूपमा हर्षोल्लासपूर्वक मनाउने गरिएको सन्देशमा उल्लेख छ ।
भनिएको छ ‘यस्ता चाडपर्वहरूले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबिच हाम्रो मौलिकतालाई थप सुदृढ गर्नुका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण राख्न थप योगदान गरिरहेका छन् ।’