धरान : संयुक्त राष्ट्र सङ्घले आज सोमवार इजरायलद्वारा लेबनान दक्षिण सीमा क्षेत्र 'ब्लु लाइन' स्थित राष्ट्रसङ्घीय शान्ति सेनाको बेश क्याम्पमा हस्तक्षेप गरेको आरोप लगाएको छ ।
इजरायली सैनिकहरू जबरजस्ती बेस क्याम्पमा घुसपैठ गर्ने गरेकाले युएन अन्ट्रिम फोर्स (युनिफिल)का शान्ति सेना र इजरायली सैनिक बिच मुठभेडको घटना बढेको राष्ट्र सङ्घले आरोप लगाएको हो । लेबनान र इजरायलको सिमाना छुट्याउने ‘ब्लु लाइन’ संयुक्त राष्ट्र सङ्घको नियन्त्रणमा छ ।
लेबनान स्थित युनिफिलले जनाए अनुसार आइतबार इजरायली सेनाको टैंकले बेस क्याम्पको मुख्य गेट तोडफोड गर्‍यो, पछि गोलीबारी पनि गरेको थियो । सोही कारण क्याम्पमा धुवाँ भरिएर १५ जना शान्ति सैनिककोलाई छाला पोल्ने र पेट सम्बन्धी समस्या भएको बताइएको छ ।
बीबीसीको समाचारमा इजरायली डिफेन्स फोर्सेज (आइडीएफ)ले भने घाइते सैनिकको निकाल्नका लागि युनिफिलको बेस क्याम्पमा प्रवेश गरेको बताइएको उल्लेख छ ।
इजरायलले युद्ध चलिरहेकोले दक्षिण लेबनान इलाकाबाट शान्ति सेना हटाउन पटक-पटक आग्रह गर्दै आएको छ । युनिफिलले अहिले सम्म इजरायलको उक्त आग्रहलाई स्वीकार गरेको छैन ।
लेबनानको उक्त क्षेत्रमा ५० देशका करिब १० हजार युएन शान्ति सैनिक तैनाथ छन। ऊनीहरूसँगै लगभग ८०० आम नागरिक पनि कार्यरत छन् ।
सन् १९७८ देखी शान्ति सेनाले लितानी नदी र ‘ब्लु लाइन’ को बिचमा गस्ती गर्दै आएको छ। लेबनान र इजरायल बिच ब्लु लाइनलाई राष्ट्रसङ्घीय मान्यता प्राप्त सीमा क्षेत्र भनिँदै आएको छ ।