वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका ७ देविघाटमा १०औँ संस्करणको सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिता २०८१ आयोजना हुने भएको छ । वडा दशैँ, शुभ दीपावली तथा छठ पर्वको अवसरमा सप्तकोसी युवा क्लबले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

स्थानीय बसन्तऋतु माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता कात्तिक ७ गतेदेखि १४ गतेसम्म आयोजना हुने आयोजकले जानकारी दिएको छ ।  प्रतियोगितामा विभागीय टिम सहित झापा, मोरङ, सुनसरी, उदयपुर र सिराहा जिल्लाका ८ क्लबहरू सहभागी हुने कार्यक्रम संयोजक मोहन दुलालले बताए ।

उनका अनुसार प्रतियोगितामा न्युस्टार फुटबल क्लब भरौल, पथरी ११ फुटबल क्लब मोरङ, गोधुली फुटबल क्लब धरान, गाईघाट फुटबल क्लब उदयपुर, आयोजक सप्तकोसी फुटबल क्लब, एपिएफ पकली सुनसरी, चुलाचुली फुटबल क्लब झापा र हिमकस्तुरी फुटबल क्लब लहान सिराहा सहभागी हुनेछन् ।

२४ लाख खर्च अनुमान गरिएको प्रतियोगिताको प्रथम पुरस्कार २ लाख र दोस्रो पुरस्कार १ लाख रुपैयाँ रहेको आयोजकले जानकारी दिएको छ ।

दैनिक खेलमा म्यान अफ द म्याच र प्रतियोगिता भर विधागत उत्कृष्ट खेलाडीहरूले नगद सहित ट्रफि प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष ज्ञान बहादुर  लिम्बुले जानकारी दिए ।

वडादशैँ, शुभ दीपावली तथा छठ पर्वको अवसरसँगै खेलाडी उत्पादन गर्ने लक्ष्य सहित आयोजना हुने प्रतियोगिताको नारा वराहक्षेत्र नगरको चाहना, दुर्व्यसन मुक्त समाजको स्थापना दिइनेछ ।

वराहक्षेत्र नगरपालिका नगर खेलकुद विकाश समिति संरक्षक रहेको प्रतियोगिताको संयोजक वराहक्षेत्र नगरपालिका वडा नं.७ रहेको आयोजक क्लब सप्तकोसी युवा क्लबका सह-सचिव ईश्वरी रिजालले जानकारी दिए ।