चतरा : ९ औँ संस्करणको सप्तकोशी गोल्डकपको उपाधि पथरी फुटबल क्लब मोरङले जितेको छ । वराहक्षेत्र-७ देबिघाटमा शनिवार सम्पन्न फाइनल खेलमा शिवसताक्षीधाम फुटबल क्लब झापालाई १-३ गोलको अन्तरले पराजित गर्दै पथरीले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
खेलको ३० औँ मिनेटमा शिवसताक्षीले अग्रता लिएको थियो । शिवसताक्षिधामका लागि जर्सी नं २० का सञ्जोक राईले गोल गरेका थिए । १ गोलले पछि परेको पथरीले खेलको ३३ औँ मिनेटमा खेलमा फर्किएको थियो । पथरीका लागि जर्सी नं ११ का विजय भुजेलले बराबरी गोल गरेका थिए । खेलमा फर्किएको २ मिनेट बित्न नपाउँदै पथरीले खेलमा अग्रता लिन सफल भएको थियो । खेलको ३५ औँ मिनेटमा पुन: जर्सी नं ११ का विजय भुजेलले गोल गरेका थिए । 
पुन: खेलको दोस्रो हाफको ७ औँ मिनेटमा पथरीले गोल गर्दै अग्रतालाई फराकिलो बनाएका थिए । पथरीका लागि जर्सी नं ६ का उमेश कार्कीले गोल गरेका थिए । त्यसपछि दुवै टिमबाट कुनै गोल हुन नसकेपछि शिवसताक्षीधाम माथि पथरीले १-३ गोलको सहज जित निकाल्न सफल भएको थियो ।
उपाधि हात पारेको पथरीले नगद २ लाख सहित मेडल, ट्रफी हात पारेको थियो । उपबिजेतामा चित्त बुझाएको शिवसताक्षीले नगद १ लाख सहित मेडल र ट्रफिमा प्राप्त गरेको थियो ।
सप्तकोसी युवा क्लबले आयोजना गरेको प्रतियोगिता अन्तर्गत उत्कृष्ट खेलाडी पथरीका विजय भुजेल, उत्कृष्ट गोल किपर पथरीका सुजित चौधरी, उत्कृष्ट डिफेन्स पथरीका मीन धिमाल, उत्कृष्ट मिडफिल्डर सिवसताक्षीका निकेस श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक पथरीका लालबहादुर लावती, सर्वोकृष्ट पथरीका विवेक पौडेल, उच्चगोलकर्ता ३ गोल गरेका शिवसताक्षीका विजय भुजेल, उदयमान खेलाडी आयोजक सप्तकोसी युवा क्लबका आदेश दर्नाल घोषित भएका थिए । उनीहरूले नगद ५ हजार, ट्रफि प्राप्त गरेका थिए ।
विजेता, उपविजेता तथा विधागत तर्फ उत्कृष्ट खेलाडीहरूलाई प्रमुख अतिथि नगर प्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार, वराहक्षेत्र खेलकुद समितिका संयोजक कपिल आचार्य, वडा नं ५ का वडाध्यक्ष रोहित काफ्ले, वडा नं ८ का अध्यक्ष रोशन खड्का, महिला नेतृ अनु गुरुङ, सामाजसेवि उपेन्द्रबहादुर कटुवाल लगाएले वितरण गरेका थिए।