इटहरी : रामधुनी नगरपालिका-६ बक्लौरीका ४५ वर्षीय दीपु चौधरीको मृत्युको घट्नाले नयाँ मोड लिएको छ ।

प्रहरीले मादक पदार्थ सेवन गरेका चौधरीको मातेर साइकलबाट लड्दा मृत्यु भएको आशङ्का गरेको थियो । अनुसन्धानको क्रममा चौधरीलाई खानेपानी कार्यालय भोजपुरको गाडीले ठक्कर दिएको खुल्न आएको प्रहरीले जनाएको छ ।

चौधरीलाई रामधुनी-६ भित्री सडकमा असोज १८ गते बिहान साढे ८ बजे खानेपानी कार्यालय भोजपुरको को १ झ ६३३ नम्बरको गाडीले ठक्कर दिएको थियो । घाइते चौधरीलाई घरमा लगिएको थियो ।

घरेलु उपचार गरेपनि स्वास्थ्यमा समस्या बढेपछि उपचार गर्न असोज २६ गते मोरङको बूढीगंगा विराट शिक्षण अस्पताल पुर्‍याइयो । उनको २७ गते आइतबार मृत्यु भएको सुनसरी जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले बताए ।

चौधरीलाई गाडीले ठक्कर दिएको सोमबार इलाका प्रहरी कार्यालय पकलीमा आफन्तले जानकारी गराएका हुन । पकलीका इन्स्पेक्टर लेखनाथ दाहालको टोलीले अनुसन्धानमा चौधरीको मृत्यु दुर्घटनाका कारण भएको खुलेको हो ।

प्रहरीले दुर्घटना स्थल वरपरका सीसी क्यामेरा फुटेज अध्ययन गर्दा गाडीले साइकलयात्रीलाई ठक्कर दिएको यकिन भएको प्रवक्ता तिमल्सिनाले बताए । सडक पार गर्दै गरेको साइकललाई तीव्र गतिमा आएको गाडीले ठक्कर दिएको सीसी क्यामेरा फुटेजमा देखियो । 

ठक्कर दिएपछि साइकलसँगै चौधरी सडकमा लडेका थिए । केही बेरमा आफैँ उठे । चालकले गाडी रोकेका थिए तर, स्थानीयहरू भेला हुन थालेपछि गाडी लिएर चालक फरार भएको देखिएको छ ।

घटनास्थलबाट भागेको गाडीलाई कसैले पनि रोक्ने प्रयास र प्रहरीलाई तत्काल जानकारी पनि गरिएको थिएन । मृत्यु भएपछि भने प्रहरीलाई आफन्तले घटनाको जनकारी दिएका हुन ।

प्रहरीले ठक्कर दिएको गाडी पत्ता लगाएको डिएसपी तिमल्सिनाले बताए । उनका अनुसार घट्नामा संलग्न चालक षडानन्द नगरपालिका-११ का ४६ वर्षीय सुरेश तामाङलाई पकली झिकाएको छ ।

डिएसपी तिमल्सिनाले भने ‘साइकलबाट लडेको जानकारी प्रहरीमा आएको थियो, घाइते गम्भीर हुँदै गएपछि स्करपिओ गाडीले ठक्कर दिएको भन्ने खबर आयो ।’ प्रहरीले अनुसन्धान गर्न सीसी क्यामेरा फुटेज अध्ययन गर्दा घटनाको वास्तविकता पत्ता लागेको उनले बताए।