इटहरी : इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठक असोज ११ गते शुक्रवार राती १० बजेसम्म चल्यो । रातीसम्म बैठकका एजेन्डाहरूमा सहमति नभएपछि असोज १८ गते शुक्रवार (७ दिन) सम्मको लागि बैठक स्थगित गरियो ।

बैठकका अध्यक्ष तथा मेयर हेमकर्ण पौडेलले चालु बैठकलाई निरन्तरता दिने गरी १८ गते पुनः छलफल गर्नेगरि बैठक स्थगित गरे । रातको समय हतारमा देखिएका कार्यपालिका सदस्यहरू मेयरको निर्णय प्रति खुसी भए । १४२ औँ कार्यपालिकाको बैठकलाई नै निरन्तरता दिने मेयर पौडेलको भनाइमा कार्यपालिका सदस्यले ताली बजाए ।

बैठकमा चालु आर्थिक वर्ष २०८१/०८२ को दररेट, करार ज्यालादारी कर्मचारीको म्याद थप सहित अग्नि नियन्त्रक कर्मचारी, इन्जिनियर र सहायक कम्प्युटर अपरेटर पदपूर्ति सम्बन्धमा छलफल भइसकेको छ । पुरानो ठेक्का सम्झौता, स्वास्थ्य चौकीमा चिकित्सक सेवा सञ्चालन, विद्यालय दिवा खाजा सम्बन्धमा चर्काचर्की नै भयो ।

शान्ति सृजना माध्यमिक विद्यालयका प्रधानाध्यापकको सम्बन्धमा २ घण्टासम्म छलफल भए पनि निर्णय हुन सकेन । सोही विषयमा थप तयारी गर्नुपर्ने र अन्य एजेन्डामा पनि तयारीका साथ आउन कार्यपालिका सदस्यलाई मेयर पौडेलले आग्रह गरे । प्रधानाध्यापकको पद निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा मेयर पौडेल र एमाले सम्बद्ध कार्यपालिका सदस्य बिच मत बाझिएपछि निर्णय हुन सकेन ।

नगर बस खरिद लगायत विषयमा प्रवेश नै नगरी स्थगित भएको बैठक अझै अन्योलकै अवस्थामा छ । घटस्थापनाको भोलीपल्ट बोलाइएको बैठक दशैको बहानामा बस्न सकेन । दसैँ सकिएको एक साता बित्नै लागे पनि बैठक आह्वान बारे सूचना प्रकाशित भएको छैन ।

यसअघि लामो समय कार्यपालिका बैठक नबसेको भन्दै एमाले सम्बद्ध कार्यपालिका सदस्यले मेयर पौडेल समक्ष बैठक आह्वानको माग गरेका थिए । मेयर पौडेलले सुनुवाइ नगरेपछि उच्च अदालत विराटनगरमा कार्यपालिका बैठक आह्वानको रिट निवेदन दर्ता गराए । विना निष्कर्ष टुङ्गिएको बैठक कहिले बस्छ भन्नेबारे यकिन हुन सकेको छैन । यस बिचमा तिहार छठ लगायत पर्व परेकाले त्यसपछीमात्र बैठक बस्न सक्ने अनुमान गरिएको छ ।