इटहरी : इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठक शुक्रवार राती १० बजेसम्म चलेपछि निरन्तर जारी रहने गरी स्थगित भएको छ । १४२औँ कार्यपालिकाको बैठकलाई नै निरन्तरता दिनेगरी मेयर हेमकर्ण पौडेलले बैठक स्थगित गरेका हुन् ।
लामो समयदेखि बस्न नसकेको बैठकमा धेरै एजेन्डा भएपछि बैठक लम्बिएको बताइएको छ। एउटै विषयमा दुई घण्टासम्म बहस हुँदा समेत सहमति नभएपछि बैठक स्थगित गरिएको हो ।
दिउँसो १ बजे बोलाइएको बैठक ३ घण्टा ढिलो गरी सुरु भएको थियो । मुख्यतः चालु आर्थिक वर्ष २०८१/०८२ को दररेट, करार ज्यालादारी कर्मचारीको म्याद थप सहित अग्नि नियन्त्रक कर्मचारी, इन्जिनियर र सहायक कम्प्युटर अपरेटर पदपूर्ति सम्बन्धमा छलफल भएको हो । 
पुरानो ठेक्का सम्झौता सम्बन्धमा लामो बहस चलेको थियो । स्वास्थ्य चौकीहरूमा चिकित्सक सेवा सञ्चालन गर्ने, विद्यालय दिवा खाजा सम्बन्धमा पनि छलफल भएको छ ।
शान्ति सृजना माध्यमिक विद्यालयका प्रधानाध्यापकको सम्बन्धमा ठोस निर्णय हुन नसकेपछि बैठक लम्बिँदै भएको थियो । त्यसपछि थप तयारी गर्ने गरी उपभोक्ता समितिको भुक्तानी सम्बन्धमा, बडा दशैंको शुभकामना आदान प्रदान, समसामयिक विषयमा पुनः १८ गते शुक्रवार निर्णय गर्ने गरी मेयर पौडेलले बैठक स्थगित गरेका हुन् ।