धरान : जमेको पानीमा ढुङ्गा उफार्ने अन्तर्राष्ट्रिय खेल स्टोन स्किपिङ 'पानी सुल्के' प्रतियोगिताको दोस्रो संस्करण कात्तिक १६ शुक्रवार बराहक्षेत्र-१ चतरा स्थित चतरा नहरमा हुँदैछ ।

यसपालि पुरस्कार रकम ५ गुणा बढाइएकोले प्रथम प्रतियोगिताको कीर्तिमान तोड्न कडा प्रतिस्पर्धा हुने संयोजक नवराज विष्टले आज सोमवार बिहान आयोजित पत्रकार सम्मेलनमा बताए । प्रतियोगिता चतरा हाइकिङ समूहले आयोजना गर्दैछ ।

पहिलो प्रतियोगितामा प्रथम पुरस्कार ५ हजार ३ र २ हजार रुपैयाँ थियो । यसपालि पुरस्कारको रकम वृद्धि गरेर प्रथम पुरस्कार २५ हजार रुपैयाँ पुर्‍याइएको छ । दोस्रो र तेस्रोले १५ र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पहिलो प्रतियोगितामा चतराका राहुल लिम्बुले पहिलो चरणमा ३३ पटक पानीमा ढुङ्गा उफारेर नयाँ कीर्तिमान बनाएका थिए । उनले ३ पटकमा ७३ पटक ढुङ्गा उफारेर प्रथम भएका थिए ।

यसपालिको प्रतियोगिता लिम्बुले नेपालमा पहिलो पटक कायम गरेको कीर्तिमान तोडेर नयाँ कीर्तिमान बन्छ बन्दैन चासोको विषय बनेको छ । पुरस्कारको मात्र नभई यसपालि पुरानो कीर्तिमान तोड्ने पनि प्रतिस्पर्धीहरूलाई चुनौती छ ।

गिनिज बुक रेकर्डमा स्टोन स्किपिङ खेलमा एकै पटकमा ८८ पटक ढुङ्गा उफारेको विश्व रेकर्ड छ । अमेरिकी नागरिक कर्ट स्टेइरले सन् २०१३ मा कायम गरेको उक्त कीर्तिमान अहिले सम्म तोडिएको छैन। नेपालमा हुने दोस्रो प्रतियोगितामा पुरानो कीर्तिमान तोडिन्छ, तोडिन्न चासोको विषय बनेको हो ।

स्टोन स्किपिङ खेल अमेरिका, आयरल्याण्ड, स्कटल्याण्डमा परम्परागत खेलको रूपमा नदी, तलाउ, पोखरीमा प्रतियोगिता आयोजना हुने गरेको छ । नेपालमा पहिलो पटक चतरा हाइकिङ समूहले 'पानी सुल्के' नेपाली नामकरण गरी आयोजना गर्न थालेको हो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भीषण राईले यो नयाँ खेलको प्रतियोगिताले पर्यटनको सम्भावना बढाउने बताए । नहर, नदी, खोला, पोखरी भएको ठाउँमा अनौपचारिक रूपमा खेलिँदै आएको यो खेललाई औपचारिक प्रतियोगिता आयोजना गरी खेल पर्यटनमा थप आकर्षण बढाउन सकिने उनको भनाई छ।