इटहरी : इटहरी उपमहानगरपालिकाको नगर प्रहरीसँग विवाद भएपछि व्यापारी राम बहादुर खतिवडा (हरि) पक्राउ परेका छन् । सोमबार बिहान पसल बाहिर खाट राखेर सामान विक्री गरेको भन्दै नगर प्रहरीले खाट हटाइदिएपछि विवाद बढेको हो ।

खाट हटाइ सकेर केही पर पुगेको नगर प्रहरीलाई खतिवडाले बोलाएका थिए । बोलाएर चर्को स्वर गरेपछि नगर प्रहरी खतिवडा माथि जाइ लागेको थियो । केही समय नोकझोक भएपछि प्रहरीले उनलाई पक्राउ गरेर उपमहानगरपालिका कार्यालय पुर्‍यायो ।

विवादको क्रममा राम बहादुरकी छोरी अस्मिताको आँखामा चोट लागेको छ । बिहान प्रहरीले बाउ छोरी दुवै जनालाई पक्राउ गरेको भए पनि छोरी अस्मितालाई केही समय पछि रिहा गरेको थियो ।

खतिवडालाई नगर प्रहरीले दिएको उजुरीको आधारमा प्रहरीले मुद्दा दर्ता गराएको छ । अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गराएको प्रहरीले दुई दिनको लागि म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको छ । नगर प्रहरीले आफूमाथि हातपात भएको भन्दै उजुरी दिएको थियो । 

उता प्रत्यक्षदर्शीले भने नगर प्रहरीले खतिवडाको पसललाई मात्र टार्गेट गरेर जबरजस्ती गरेको बताएका छन् । अन्य पसलको जस्तै केही अगाडी खाट राखेर विक्री गरिरहेका खतिवडालाई मात्र नगर प्रहरीले किन टार्गेट गर्‍यो भन्न नबुझिएको उनीहरू बताउँछन् ।

हटिया लाइन आसपास बजार अस्तव्यस्त भएको ठाउँमा ध्यान दिन नसकेको व्यापारीहरूको गुनासो छ । केही दिन अगाडी पनि मुख्य राजमार्गमै सफारीको चक्काको हावा खोलेर चालकलाई प्रहरीले दुर्व्यवहार गरेको थियो ।

त्यस अघि पत्रकारलाई दुर्व्यवहार गर्ने देखि सफारी चालकलाई ट्वाइलेटमा थुन्ने सम्मको गतिविधि गरेर इटहरीको नगर प्रहरी विवादमा पर्दै आएको छ ।