धरान : उपमहानगरपालिकाका वडा २ का  वडाध्यक्ष रमेश राईलेले तिहारको अवसरमा मेला लगाउन उपमहानगरपालिको अनुमति र समन्वय नगरी, सहमति नलिई आफूखुसी मेला लगाउने अनुमति दिइएको पाइएको छ ।

वडाध्यक्ष राईले ऐन विपरीत ‘भानु क्लब बजार व्यवस्थापन समिति’ नामक संस्थालाई उपमहानगरपालिकासँग समन्वय समेत नगरी मेला लगाउन अनुमति दिएका हुन । उनले धरानको व्यस्त स्थान भानुचौक लोकतान्त्रिक चौतारी उत्तर ट्याक्सी स्टेण्ड रहेको ठाउँ सहित भानुचौक परिसरमा अनुमति दिएको पाइएको छ ।

उपमहानगरपालिकाको आर्थिक ऐन २०८१ अनुसार वडा कार्यालयले मेला उत्सव लगाउने अनुमति दिन मिल्दैन । ऐनको दफा २३ मा अनुमति लिनु पर्ने स्पष्ट व्यवस्था छ ।

ऐनको दफा २३ मा ‘धरान उपमहानगरपालिकाको राजस्व परिचालन ऐन, २०७७ को दफा १३ बमोजिम उपमहानगरपालिका क्षेत्रभित्र रहेका स्वीकृत चलचित्र घर, सांस्कृतिक प्रदर्शन हल, थिएटर, सङ्गीत स्थल, नाटक घर, फनपार्क, बाल उद्यान, वाटर पार्क, दोहोरी साँझ, जुम्बा, डान्सबार, हाटबजार, मेला, जिपलाईन, मनोरञ्जन प्रदर्शन स्थल, जादु, सर्कस, चटकजस्ता व्यवसाय वा कार्यक्रम सञ्चालन गर्नु पूर्व नगर कार्यपालिकाको कार्यालयबाट अनुमति लिनु पर्नेछ’ भनिएको छ ।

तर धरान २ का अध्यक्ष राईले ऐनविपरित आफै भानुचोकमा मेला लगाउन अनुमति दिएका हुन । ‘शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा कार्तिक १५ गतदेखि २२ गत सम्म ५ दिनका लागि सङ्गीत कार्यक्रम सहित मनोरञ्जन गराउनका लागि हाउजी सञ्चालन गर्न अनुमति दिइएको वडाध्यक्ष राईद्वारा हस्ताक्षरित अनुमति पत्रमा उल्लेख छ ।

यसबारे वडाध्यक्ष राईसँग सम्पर्क गर्दा सामाजिक काम गरिरहेको संस्था भएकाले अनुमति दिएको बताए । उनले वडा पनि सरकार भएकाले मेला लगाउने अनुमति दिन सक्ने दाबी गरे । उनले भने, ‘व्यवहारिक रूपमा नगरको हितका लागि गरेको हो, मृत सहर नहोस् भन्ने उद्देश्य हो ।’

उनले उपप्रमुख अइन्द्र विक्रम बेघाले अनुमति दिन नसक्ने जवाफ दिएको बताउँदै प्रशासनलाई शान्ति सुरक्षाका लागि जानकारी दिएको उल्लेख गरे ।

धरान-३ मा लगाइएको फुड फेस्टिभलका बारेमा प्रश्न गर्दा वडाध्यक्ष विद्या शाक्यले टोल विकास समितिबाट माग गरेको र आफू उपमहानगरपालिकामा सिफारिस गरेको बताए ।

उनले भने, ‘माग आएपछि नगरमा सिफारिस गरेँ, अनुमति दिने/नदिने नगरको कुरा हो, अनुमति दिएको छ ।’ प्रशासनबाट पनि अनुमति लिएको वडाध्यक्ष शाक्यले बताए ।

उनका अनुसार वडा ३ मा मेला लगाउनेले १ लाख ५५ हजार रुपैयाँ नगरलाई राजस्व बुझाएका छ । तर, वडा २ को भानु क्लबले कतै पनि राजस्व बुझाएको छैन ।

उपप्रमुख बेघाले धरान २ मा लगाउने भनिएको मेलाबारे अनभिज्ञता प्रकट गरे । उनले भने, ‘हामीलाई जानकारी छैन । प्रशासनले सोधेमा थाहा छैन नि भन्छौ ।’

भोलीसम्म माग भई आएमा मागका आधारमा दिने/नदिने निर्णय लिइने उनले बताए । उपप्रमुख बेघाका अनुसार वडा ३ को मेलालाई नगर प्रमुख हर्क साम्पाङले नै अनुमति दिएको थियो । त्यसैलाई निरन्तरता दिइएको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले मेला लगाउने विषयमा कुनै जानकारी नआएको बताए । उनले भने, ‘इलाका प्रशासन कार्यालय धरानमा जानकारी छ कि छैन बुझिएको छैन ।’

इलाका प्रशासन कार्यालय धरानका प्रमुख लक्ष्मी प्रसाद रेग्मीले एउटा वडाका विषयमा जानकारी आएको बताए । उक्त वडा ३ हो । उनले भने, ‘प्रचलित ऐन अनुसार कार्यपालिकाको निर्णय हुनुपर्छ र प्रशासनलाई शान्ति सुरक्षा माग्नुपर्छ ।’

उनका अनुसार कार्यपालिकाबाट निर्णय नगरी प्रशासनमा जानकारी आए पनि नीतिगत स्वीकृति दिएको मानिँदैन ।