धरान : किरात राई यायोख्खाव्दारा धरान–१७ साकेला पार्कमा स्थापित साकेला पुस्तकालयलाई धरान खेलकुद मञ्चले १०० थान पुस्तक प्रदान गरेको छ ।

पुस्तकालय प्राङ्गणमा शनिवार बिहान आयोजित संक्षिप्त हस्तान्तरण कार्यक्रममा वरिष्ठ पत्रकार हर्ष सुब्बा, खेलकुद मञ्चका अध्यक्ष किशोर राई सहित पदाधिकारीहरूले पुस्तक हस्तान्तरण गरेका हुन ।

मञ्चका साथै उपप्राध्यापक विदुर राई, कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले व्यक्तिगत रूपमा प्रदान गरेको पुस्तकहरू किरात राई यायोख्खा सुनसरी अध्यक्ष राजेन्द्र राई, सचिव नवीन राईले पुस्तक ग्रहण गरेका छन् ।सोही अवसरमा मञ्च एवं कोशी प्रदेश फुटबल सङ्घबाट पुस्तकालय सञ्चालनका लागि भौतिक सामाग्री जुटाउन नगद १० हजार रुपैयाँ सहयोग पनि हस्तान्तरण गरिएको छ ।

उक्त अवसरमा अध्ययन अध्यापनमा समेत डिजिटल प्रविधिको प्रयोग बढे पनि आदिवासी जनजाति सम्बन्धी नयाँ खोज अनुसन्धानका सामाग्रीलाई आधिकारी रूपमा डिजिटलाइजेसन गर्न पुस्तकालयको महत्त्व भने नघटेको प्रमुख अतिथि सुब्बाले बताए ।

नेपालका आदिवासी जनजाति सम्बन्धी इतिहास, खोज, अनुसन्धानका पुस्तकहरूको छुट्टै संस्थागत पुस्तकालयको आवश्यकता खडकी रहेको बेला साकेला पुस्तकालय पहिलो माइल खुट्टीको रूपमा स्थापना भएको उनको भनाई थियो ।

मञ्चका अध्यक्ष किशोर राईले अबको खेलकुद शारीरिक अभ्यासमा मात्र सीमित नरहेको खेल सम्बन्धी अध्ययनको भूमिका पनि महत्त्वपूर्ण पक्षको रूपमा बढेको बताउँदै भने ‘पुस्तकालयहरूमा खेलाडीलाई चाहिने पुस्तकहरू पनि उपलब्ध हुन जरुरी छ ।’

उनले नेपाली महिला क्रिकेट टिमको सफलताले अब नेपालको खेल अन्तर्राष्ट्रिय स्तरमा पुगेको सन्देश दिएको बताउँदै नेपालमा आयोजना गरिएका नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट प्रतियोगिताले नयाँ आयाम थपिएको बताउँदै क्यानको प्रशंसा गरे ।

किरात राई यायोख्खाका जिल्ला अध्यक्ष राजेन्द्र राईले साकेला पुस्तकालयलाई अत्याधुनिक पुस्तकालयको रूपमा विकास गर्ने योजना रहेको बताउँदै ई–पुस्तकालय, डिजिटल सुविधाहरूको व्यवस्थापन भइरहेको बताए । कार्यक्रम खेलकुद मञ्चका सचिव विक्रम राईले सञ्चालन गरेका थिए ।

rakam-distribution