झापा : कन्काई नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदका लागि भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् ।अन्तिम मत परिणाम अनुसार ४९३ मत ल्याई उनी निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार तुलाराम बस्नेतले ३५६ , नेपाली काँग्रेसका रामगोपाल ओलीले ३१७, माओवादी केन्द्रका गणेशबहादुर थापाले २७७ र राप्रपाका नारायण निरौलाले २६ ,-नागरिक उन्मुक्ति पार्टीकी जमुना राजवंशीले ६,-मङ्गोल नेशनल अर्गनाइजेसनका पदमबहादुर तामाङले २०, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दलबहादुर श्रेष्ठले २ र जनमत पार्टीका शुकलाल राजवंशीले ९ मत ल्याएका छन् ।
कुल १५१३ मत खसेकोमा १५०६ मत सदर भएको थियो ।वडाध्यक्षमा निर्वाचित ओली २०७९ सालको स्थानीय तहको निर्वाचनका उपविजेता हुन् । त्यति बेला एमालेका दीर्घ बहादुर थापा ५०८ मत ल्याएर निर्वाचित हुँदा स्वतन्त्र उम्मेदवारी दिएका ओलीले ४४० मत ल्याएका थिए ।
त्यसअघि २०७४ सालमा भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार इन्द्रप्रसाद नेपाललाई फराकिलो मतान्तरले पाखा लगाएर नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका ओली त्यस वडाको वडाध्यक्षमा विजयी बनेका थिए ।
२०७४ र २०७९ को निर्वाचनको परिणाम र अहिलेको माहौल हेर्दा स्वतन्त्र उम्मेदवार ओली अरूको लागि भारी पर्ने पक्का देखिएको थियो ।