धरान : इलाका प्रहरी कार्यालय धरानले धरान-१६ जोरसखुवा र धरान-८ सिद्धार्थ मागबाट ४४ हजार क्याप्सुल भन्दा बढी परिमाण लागुऔषध सहित ३ जनालाई युवालाई बिहीबार राती पक्राउ गरेको छ ।
लागुऔषध सहित पक्राउ पर्नेमा जोरसखुवाका २४ वर्षीय सुमित भुजेल छन् । हेमराज सुवेदी नेतृत्वको गस्ती टोलीले चेकजाँच गर्दा भुजेलले प्लास्टिकको झोलामा बोकेको लागुऔषध ट्रामाडोल १ सय क्याप्सुल, ट्रामानिल ९०० क्याप्सुल र नियन्त्रित औषधी स्पासपेन १ हजार क्याप्सुल बरामद गरेको हो ।
त्यसैगरी धरान-८ सिद्धार्थ मार्गमा कुमार खत्रीको घरमा डेरा गरी बस्ने हरीनगर-४ का ३१ वर्षीय अरसद अन्सारी र भुटाहाका ४५ वर्षीय जियाउल अन्सारी समेतले लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई प्रहरी निरीक्षक कोमल ठाकुरको नेतृत्वका प्रहरी टोलीले पक्राउ गरेको हो । लागुऔषध कारोबार गरिरहेको सूचनाको आधारमा दुवै जनालाई डेरा कोठाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले बताए ।
उनका अनुसार डेरा कोठा खानतलासी गर्दा खाटमुनि कालो झोला तथा रातो कालो जेब्रा झोलामा लुकाई राखेको लागुऔषध ट्रामोल-५० लेखिएको ४२ हजार ६०० क्याप्सुल बरामद गरिएको छ ।
डिएसपी जबेगुले पक्राउ गरिएको लागुऔषध र ३ जनालाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको  बताए ।