धरान : धरानका १० वटा भन्दा बढी च्याब्रुङ समूहहरू आज मङ्गलवार बिहान धरान-१५ स्थित चुम्लुङ हिम परिसरमा डोको, थुम्सेमा खानेकुरा, पेय पदार्थ लिएर च्याब्रुङ नाच्दै भेला भए ।
अघि अघि चेलीलाई कोशेली बोकाएर हिँडेको च्याब्रुङ टोली लिम्बु सांस्कृतिक परिषदमा आबद्ध के-लाङ समूहका सदस्यहरू थिए । चुम्लुङ हिममा परिषद्ले माघे सङ्क्रान्ति येले तङबे ५०५८ नयाँ वर्ष कक्फेक्वा तङनाम समारोहको आयोजना गरेको थियो ।
हिम परिसरमा पालैपालो प्रवेश गरेको च्याब्रुङ टोलीले कार्यक्रममा आमन्त्रित अतिथि/सहभागीहरूलाई खानपिन गराउन सहभागिता स्वरूप सेलरोटी, तरकारी, गुन्द्रुकको अचार, उसिनेको तरुल, तिनपाने लगायत ल्याएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि परिषद्का केन्द्रीय उपाध्यक्ष कुमार हुक्फाचोङबाङले लिम्बु जातिले सबै भन्दा पहिला आगोमा पकाएर खान जानेपछि गिट्ठा भ्याकुर खोज्न जाँदा जङ्गलमा चाँप फुलेको देखेपछि कक्फेक्वा भनेको बताए ।
त्यसैलाई माघे सङ्क्रान्ति भनिएको बताउँदै उनले भने ‘लिम्बु भाषामा चाँपलाई ककफुङ भनिन्छ, चाँप फुल्ने याम माघ महिना भएकोले कक्फेक्वा भनिएको हो ।’
किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष डा.कमल तिगेलाले आदिवासी किरात राई, लिम्बु, सुनुवार, याख्खा समुदायले मनाउँदै येले संवत् अहिले ८ किरात जातिले मनाउन थालेको बताए ।
उनले येले संवत्को बारेमा पछिल्लो समय भएका खोज अनुसन्धानले किटान गरेको काल गणनालाई लिएर उत्पन्न मतभेदको चर्चा पर्याप्त रूपमा हुन नसकेको बताउँदै भने ‘ऐतिहासिक तथ्यलाई स्थापित गर्न सकिए येले संवत्लाई आधिकारिक रूपमा स्थापित गर्न सहज हुन्छ ।’
परिषद्का कोषाध्यक्ष भानु हुक्पाचोङबाङको सभापतित्वमा भएको कार्यक्रममा परिषद् केन्द्रीय सदस्य चैनध्वज फोम्बोले स्वागत भाषण गरेका थिए । चुम्लुङ केन्द्रीय उपमहासचिव डा.योगेन्द्र पालुङवा, केन्द्रीय सदस्य सङ्गीता सुब्बा, केन्द्रीय सल्लाहकार हर्ष सुब्बा, चन्द्रमाया लिम्बु उपस्थित थिए ।
साथै जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङ, नगर अध्यक्ष तीर्थ मादेम्बा, उदय लावती, सांस्कृतिक परिषद्का महेश हुक्पाचोङबाङ लगायत १० के-लाङ समूहका सदस्यहरू, वडा चुम्लुङ पदाधिकारीहरू सहभागी थिए ।  
समापनको अवसरमा के-लाङ समूहहरूले कोशेली ल्याएका परिकार खानपिन गरी यसपालिको माघे सङ्क्रान्ति कक्फेक्वा तङनाम सम्पन्न गरिएको थियो ।
maghe-sankaranti-limbu-clut