धरान : इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाका प्रहरी नायव निरीक्षक रमेश प्रधानलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले २०८१ साल पुस महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ ।
विभागीय आदेश निर्देशनको पालना गरी उच्च मनोबल र साहस सहित जिम्मेवारी एरिया इलाकाहरूमा शान्ति सुरक्षा कायम राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा पुस महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी नायव निरीक्षक प्रधानले पुष २५ गते धनकुटाको साँगुरीगढी गाउँपालिका-९ चाँदी बजारबाट चेकजाँच गर्दा मोटरसाइकलमा लागूऔषध गाँजा बोकी धरान जाँदै गरेका मानिसहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरी माथि नै आक्रमण गरे ।
त्यसै बेला हवाई फायर गरी मोटरसाइकलमा सवार रहेका ६ जना मानिसहरूलाई ५ वटा मोटरसाइकल तथा १२० किलोग्राम लागूऔषध गाँजा सहित पक्राउ गर्न सफल भएका थिए । उक्त कार्यको उच्च मूल्याङ्कन गर्दै प्रधान सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन ।