धरान : धरानमा आज शनिवार बिहानै २ बजेर ४० मिनेटको समयमा एक युवक माथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका युवकलाई उपचारका लागि विराटनगर स्थित विराट नर्सिङ अस्पतालमा पुर्‍याइएको छ ।
इलाका प्रहरीका धरानका अनुसार बिहानको समयमा रितेश राई माथि धरानको सदन रोडमा खुकुरी प्रहार भएको हो । घाइते राईको अवस्था जटिल रहेकोले बिपी प्रतिष्ठानबाट विराट नर्सिङ लगिएको डिएसपी प्रकाश जवेगुले बताए ।
घटना लगत्तै धरानमा पटक-पटक हुने खुकुरी आतङ्कले असुरक्षा बढेको भन्दै स्थानियबासीहरुले सामाजिक सञ्जालहरूमा चिन्ता जनाएका छन् ।
डिएसपी जवेगुले आक्रमण गर्नेको पहिचान भए पनि उनीहरूको तीव्र अनुसन्धान भई खोजीकार्य भइरहेको बताएका छन् ।
उनले भने ‘किन र कसरी खुकुरी प्रहार भयो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।’ अनुसन्धानपछि वास्तविकता सार्वजनिक गरिने उनले बताए ।