धरानः सञ्चार क्षेत्रमा आदिवासी लिम्बु समुदायको सङ्ख्या न्यून रहेकोले समावेशिता बढाउन लिम्बु पत्रकार सङ्घ क्रियाशील हुने लिम्बु पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष सन्देश सुब्बा लङवाले बताएका छन् ।
ऐतिहासिक, सामाजिक, सांस्कृतिक, भाषिक रूपमा समृद्ध लिम्बु समुदायको सवालका कुरा समुदायकै सञ्चारकर्मीले वास्तविक रूपमा समाजमा अघि ल्याउने भएकोले सञ्चार क्षेत्रमा समावेशिता आवश्यक भएको उनले बताए ।
लिम्बु पत्रकार सङ्घ सुनसरीको चौथो जिल्ला अधिवेशनमा प्रमुख अतिथि लङवाले मुक्कुमलुङ पाथीभराको मौलिकता, प्रदेशको नामकरणमा पहिचान, प्रदेशमा सरकारी कामकाजको भाषा लगायतका आन्दोलनको चर्चा गर्दै भने ‘सञ्चार क्षेत्रमा समावेशिता नहुँदा मिडियामा तथ्य परक ढङ्गमा विषयवस्तु प्रस्तुत हुन सकेको छैन ।’
वरिष्ठ पत्रकार हर्ष सुब्बाले फोनिज लगायत आदिवासी सम्बद्ध पत्रकार सङ्घहरूले सञ्चार क्षेत्रमा समावेशिता बढाउन दक्ष जनशक्ति उत्पादन गर्न भूमिका खेल्नु पर्नेमा जोड दिए ।
किरात राई पत्रका सङ्घका सुनसरी अध्यक्ष वसन्त राईले पत्रकार महासङ्घमा आदिवासी समुदायको पर्याप्त प्रतिनिधित्व नभएको बताउँदै समुदाय भित्रकै प्रतिस्पर्धाका कारणले  समावेशी प्रतिनिधित्वमा जनजाति पत्रकार कमजोर बनेको बताए ।
फोनिजका जिल्ला अध्यक्ष सुनिल चौधरीले सुनसरीमा फोनिजले बितेको कार्यकाल आन्तरिक कचिङ्गलका कारण सङ्गठनको काम गर्न नसकेको बताउँदै आफ्नो कार्यकालमा केही गर्ने प्रतिबद्धता जनाए ।
पत्रकार महासङ्घका सभापति सन्तोष काफ्लेले सञ्चारकर्मीका जातीय सङ्गठनहरूले समाजमा धार्मिक, सामाजिक सद्भाव, सौहार्द्यता बढाउने पत्रकारकारितालाई प्रोत्साहित गर्ने भूमिका खेल्नु पर्ने बताए ।
अधिवेशनमा फोनिज पूर्व केन्द्रीय उपाध्यक्ष भैरव आंगला, पत्रकार महासंघ सुनसरी उपाध्यक्ष यशोदा सेनेले शुभकामना मन्तव्य प्रकट गर्दै नयाँ कार्यसमितिले बदलिँदो सञ्चार क्षेत्रमा नयाँ सञ्चारकर्मी उत्पादन गर्न सकृयाता बढाउन सुझाव दिए ।
स्वर्णिमहाङको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति 
limbu-patrakar 1
अधिवेशनले स्वर्णिमहाङ फोम्बोको अध्यक्षतामा लिम्बु पत्रकार संघकाके ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत गठन गरेको छ । 
समितिको उपाध्यक्ष मेरिना तुम्सा, सचिव टिना चोङबाङ, सहसचिव किरण थेबे रहेका छन् । कोषाध्यक्ष कार्यसमितिद्वारा मनोनीत गरिने छ । कार्यसमिति सदस्यहरूमा मनिहाङ लिम्बु, विनोद केदेम, जीवन केदेम र इन्द्रकुमार लिम्बु रहेका छन् । 
सुनसरीमा सञ्चार क्षेत्रमा कार्यरत लिम्बु समुदायको सङ्ख्या २५ जना रहेको सङ्घले जनाएको छ ।