धरान : किरात याक्थुङ चुम्लुङले विद्यालय तह देखी नै मुन्धुम पठन पाठनका लागि आगामी शैक्षिक सत्र देखी ‘मुन्धुम निशाम हिम’ विद्यालय सञ्चालन गर्ने घोषणा गरेको छ ।

चुम्लुङको २६ औँ राष्ट्रिय चुम्लुङले गरेको निर्णयहरू सार्वजनिक गर्दै शनिवार उक्त घोषणा गरिएको हो । राष्ट्रिय चुम्लुङ भेला शुक्रवार र शनिवार २ दिन मोरङको सुन्दरहरैंचा स्थित चुम्लुङ हिममा भएको थियो ।

बैठकले भाषा आयोगले प्रदेश नं १ मा याक्थुङ/लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषामा प्रयोग गर्न सिफारिस गरे पनि अहिले सम्म त्यसलाई कार्यान्वयन नगरेकोमा आपत्ति जनाउँदै अविलम्ब सरकारी कामकाजको भाषा लागु गर्न माग गरेको छ ।आयोगको सिफारिस कार्यान्वयन गर्न प्रदेश सभा सदस्य खिनु लङवाको अगुवाइमा चुम्लुङ सहितको सहकार्यमा विधेयक मस्यौदा समेत भइसके पनि हाल सम्म विधेयक प्रदेश सभाले किन पारित गरेको छैन ? भनी राष्ट्रिय चुम्लुङले प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख छ ।

आदिवासी याक्थुङ/लिम्बु भाषा, लिपि, साहित्य, संस्कार, संस्कृति, इतिहास, भूमि, लिम्बुवान सभ्यता लगायत पहिचानका मुद्दाहरूको संरक्षण, विकास र थप सिर्जनात्मक साथै सङ्घर्षका कार्यक्रमहरू तयार गरी अघि बढ्न दोस्रो याक्थुङ/लिम्बु अन्तर्राष्ट्रिय भेला आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

राष्ट्रिय चुम्लुङ बैठक पछि जारी १३ बुँदे विज्ञप्तिमा लिम्बुवानमा जारी कोसी नाम खारेजी तथा पूनःनामांकनको आन्दोलन, मुक्कुमलुङ/पाथीभरमा नो केबलकार आन्दोलनलाई थप सशक्त बनाउँदै सरकार द्वारा गरिएको दमनको भर्त्सना गरिएको छ ।

भनिएको छ ‘सरोकारवालासँग छलफलै नगरी अलोक तान्त्रिक तरिकाले २०७९ फागुन १७ गते राखिएको प्रदेशको नाम कोसी एकल जातीय/गोत्रिय भएकोले अस्वीकृत गर्दै घोर विरोध, आपत्ति निन्दा र भर्त्सना गर्दछ ।’

बैठकद्वारा १४ जिल्लाको प्रदेश १ लाई ‘लिम्बुवान, किरात नामाङ्कन गर्न वा ऐतिहासिक पृष्ठभूमि एवं विसं १८३१ को लिम्बु–गोर्खा सन्धिको आधारमा अरुण सप्तकोसी पूर्व मेची भूक्षेत्रमा ‘लिम्बुवान’ आठौँ प्रदेश निर्माण गर्न माग गरिएको छ ।

ताप्लेजुङको मुक्कुमलुङ/पाथीभरा क्षेत्रमा रैथाने आदिवासीको असहमतिका बाबजुद याक्थुङ लगायत जातिहरूको पवित्र धार्मिक स्थलमा पचासौँ हजार मुन्धुमी रुख बिरुवा कटान गरी देवी देउता माथि केबलकार बनाउन लागेको केबलकार तत्काल खारेज गर्न बैठकले माग गरेको छ ।

केबलकारकै लागि मन्धुमी आस्था स्थलमा राखिएको सशस्त्र प्रहरीको बेस क्याम्प तत्काल हटाउन माग गर्दै बैठकले मुक्कुम्लुङ संरक्षकहरू विरुद्ध बिनाकारण गोली प्रहार, दमन, अत्याचार गरी मानावधिकारको चरम उल्लङ्घन गर्ने सिडिओ, डिएसपी लाई अविलम्ब कारबाही, झुट्टा मुद्दा खारेज गने माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘संसारका धार्मिक स्थलहरूमा पैदल हिँड्नु पर्ने मान्यता छ । मुक्कुमलुङ जस्तो पवित्र स्थलमा केबलकार निर्माण नगरी पैदल नै हिँड्दा यसको महत्त्व र गरिमा बढ्ने भएकोले केबलकार निर्माणको प्रयास आजकै मितिबाट अन्त्य गरियोस् ।’

chumlung PR (3)chumlung PR (2)chumlung PR (1)