इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समिति सभापति र प्रवक्ता माथि निलम्बन मात्र हैन सदस्यता नै खारेज गर्ने निर्णय भयो । जेठ १९ गते रास्वपा केन्द्रीय सचिवालय समितिको बैठक सदस्यता खारेज गरेको निर्णय आगामी केन्द्रीय समिति बैठकमा अनुमोदन गराउने तयारी भएको छ । 
महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेका विरुद्ध अभिव्यक्ति दिएपछि उनी निलम्बनमा परे । निलम्बित महामन्त्रीलाई फिर्ता बोलाउनुपर्ने र पार्टीको जिम्मेवारीमा फर्काउनुपर्ने माग राख्दै कोशी प्रदेश सभापति राजेश तिम्सिनाले अभियान नै चलाए । तर उनको अभियान सफल हुन सकेन । 
प्रदेश प्रवक्ता कमलबाबु मैनालीले यसअघि व्यक्तिगत कारोबारमा केही विवाद देखिएपछि प्रदेश महामन्त्री लालविक्रम थापालाई कारबाही नै गराए । महामन्त्री थापालाई ६ महिना निलम्बन गरेका अध्यक्ष र प्रवक्ता आफै पार्टीबाट निष्कासित भएका छन् । त्यस बखत थापाले इटहरीको जनता माविको जग्गाको भाडा नबुझाएको भन्दै मैनालीले कारबाही गरेका थिए । 
सभापति लामिछाने लगायत पदाधिकारी विरुद्ध अभिव्यक्ति दिने महामन्त्री मुकुल ढकाललाई समर्थन गरिरहेका तिम्सिना र मैनाली प्रदेश र केन्द्रीय नेतृत्वको चेपुवामा परे । प्रदेशमा शक्तिशाली देखिएका महामन्त्री थापा र केन्द्रमा सभापति लामिछानेको एकछत्र प्रभाव भएको बेला शक्त सन्तुलन मिलाउन सकेनन् । पार्टीको अनुशासन आयोगको सिफारिस सहितको प्रतिवेदनका आधारमा उनीहरू निष्कासित भएका हुन् ।
निष्कासित हुनुको कारण शक्त सन्तुलन बाहेक अन्यत्र पनि जोडिएको छ । प्रदेश समितिमै रहेका दुई नेताले प्रदेश संरचना नै खारेजी हुनुपर्ने अभियान चलाए । पार्टीको नीति विपरीत हिन्दु सम्राटको अवधारणा ल्याएका उनीहरूले नेपाली हिन्दु सम्राटलाई विश्व हिन्दु सम्राटको रूपमा विकास गर्नुपर्ने धारणा सार्वजनिक गरे । 
पार्टीको निर्देशन र नीति विपरीत गत वैशाख १७ गते ‘स्वतन्त्र राष्ट्रवादी विचार समूह’ क्षेत्रीय समितिको अपिल सार्वजनिक गरे । तिम्सिना संयोजक र मैनाली सचिव रहेको सो समितिले प्रदेशलाई खारेज गर्ने मान्यता अगाडी बढायो ।
सभापति लामिछाने सहकारी प्रकरणमा जेल जीवन बिताइरहेका बेला दुई नेताले वित्तीय माफियाको गतिविधि नियन्त्रण गर्दै राजनीतिक पूर्वाग्रहविना सबै ठगहरूलाई जेल चलान गरेर उनीहरूबाट असुल उपर गरेर सहकारी तथा लघुवित्त पीडितको रकम फिर्ता हुनुपर्ने प्रस्ताव गरे । वक्तव्यमा रास्वपाको झन्डा र आधिकारिक पद समेत उल्लेख भएपछि पार्टीले कारबाही अगाडी बढाएको हो । 
रास्वपाले अन्य दलजस्तै बेरोजगारले मात्र राजनीति गर्ने अभ्यासबाट प्रेरित भएको दुई नेताको ठहर छ । ९ बुँदे अपिल गरेको उनीहरूले रास्वपा महाधिवेशन गर्नुपर्ने, सभापति लामिछानेको विकल्प खोज्नुपर्ने मनसाय व्यक्त गरेका छन् । प्रवक्ता मैनाली २०७९ को निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् ।