इटहरी : राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामाको सुरुवात देखि नै कोशी प्रदेश खेलकुद विकास बोर्ड आलोचित बन्यो । प्रतियोगिता छनौटमै लापरबाही गरेको बोर्डको कारण नतिजा समेत लज्जास्पद आएको हो ।
जेठ ३० गते शुक्रवार सम्पन्न प्रतियोगितामा बाग्मती प्रदेशले ३६ वटा स्वर्ण पदक हात पार्दा कोशी प्रदेश शून्य स्वर्ण सहित घर फर्कियो । सामान्य टोल स्तरका प्रतियोगितामा बजेट खर्च गरिरहेको बोर्डले खेलकुदमा रणनीतिक योजना बनाउन नसकेपछि सोही अनुसार प्रतिफल आएको खेलकुद विश्लेषकहरू बताउँछन् ।
बागमती प्रदेशले ३६ स्वर्ण, ७ रजत र ११ कांस्यसाथ ७ प्रदेशमा टिम च्याम्पियन बन्यो । गत संस्करणको च्याम्पियन सुदूरपश्चिम प्रदेश १४ स्वर्ण, २० रजत र १८ कांस्य सहित दोस्रो स्थानमा रह्यो भने लुम्बिनीले ५ स्वर्ण, १३ रजत र १५ कास्य जित्दै तेस्रो स्थान हासिल गर्यो । गण्डकीले पनि ४ स्वर्ण, ११ रजत र १७ कांस्य हात पारेको थियो । कर्णाली प्रदेश ४ स्वर्ण, ६ रजत र १९ कास्यमा समेटिँदा मधेस प्रदेश ३ स्वर्ण, २ रजत र १० कांस्यका साथ छैटौँ स्थानमा पुग्यो । स्वर्ण पदक विहीन बनेको कोशी प्रदेशले ७ रजत र ८ कांस्य पदक मात्र हात परेर लज्जास्पद स्थितिमा पुग्यो ।
छनौट चरण देखि नै विवादमा रहेको कोशी प्रदेश खेलकुद विकास बोर्ड प्रतियोगिताको नतिजाले थप आलोचित बनेको छ । बोर्डको लापरबाहीको कारण ३ सय २४ खेलाडी प्रतिस्पर्धाबाट वञ्चित भए । जसको असर नतिजामा पर्यो । विराटनगरमा भएको छनोट प्रतियोगितामा सुनसरी, खोटाङ र सोलुखुम्बु जिल्लाले सहभागिता जनाएन । तीन जिल्लामा खेलाडी छनौट हुन नसकेपछि ११ जिल्लाका खेलाडी बिचमा प्रतिस्पर्धा गराइएको थियो ।
बोर्डका अध्यक्ष समेत रहेका सामाजिक विकास मन्त्री पाँचकर्ण राईकै जिल्ला खोटाङले समेत प्रतियोगितामा भाग लिन पाएन । बोर्डको लापरबाहीले मन्त्रीलाई समेत लज्जित बनाउने गरी प्रतिस्पर्धाको लागि खेलाडी पठाएको हो । युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा प्रतियोगिता हुने गरेको छ ।
सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक राईले प्रदेश खेलकुद विकास बोर्डले समयमै पत्राचार नभएको र आवश्यक तयारी गर्न नपाएको कारण छनौट गर्न नसकिएको बताए । बोर्डले समयमै खर्च पठाएर तयारीको लागि समन्वय नगरेको उनको गुनासो छ ।
समयमै ध्यान पुर्याउन नसकेको र कार्य योजना विनै हचुवाको भरमा खेलाडी छनौट भएपछि यो अवस्था आएको खेलकुद पत्रकार अर्जुन सुवेदी बताउँछन् । पालिका स्तरबाट केही मेहनत देखिए पनि जिल्ला र प्रदेशले खेलाडीको क्षमता अभिवृद्धि तथा विकासमा खासै चासो नदेखाएको उनको भनाइ छ ।
कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राई प्रदेशको नतिजा प्रति आक्रोशित भएका छन् । कोशी प्रदेशले एउटै पनि स्वर्ण पदक हासिल नगर्नु लज्जाको विषय भएको बताउँदै उनले बोर्ड र सरकार दुवै गैर जिम्मेवार भएको आरोप लगाए । एन्फाका मानार्थ केन्द्रीय उपाध्यक्ष समेत रहेका राईले प्रतियोगिताको पूर्व तयारीमा मनोमानी,बेवास्ता र गैर जिम्मेवार नीतिका अपनाइएको दाबी गरे ।
प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव परशुराम बस्नेतले राखेपले ढिला निर्णय गरेको कारण हतार भएको प्रतिक्रिया दिए । आफ्नो गल्ती ढाकछोप गर्दै उनले खेलाडी नपठाउने सुनसरी, सोलुखुम्बु र खोटाङलाई बोर्डले स्पष्टीकरण सोध्ने बताएका छन् ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, उसु र तेक्वान्दो गरी ६ विधामा प्रतिस्पर्धा भएको थियो । तीन दिने प्रतियोगितामा ६ सय ८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।समावेश ६ वटै खेलको हरेक पदकका कुल १२ लाख नगद पुरस्कार वितरण गरिएको थियो ।